
भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ कौशलटार चोक नजिक बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर शुक्रबार राति एक युवकको मृत्यु भएको छ।
काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्याक्टरबाट खसेर उदयपुर गाईघाट घर भई हाल ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टरबाट अचानक सडकमा खस्दा गम्भीर घाइते कार्कीलाई उपचारको लागि समिट अस्पताल लगिएको थियो। थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमा लग्दालग्दै उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
उनका अनुसार ट्याक्टर चालक झापाको कन्काई नगरपालिका– ५ घर भई हाल ललितपुरको इमाडोलमै बस्ने २७ वर्षीय रोशन गुरुङलाई नियन्त्रणमा लिइएको छ। उनलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पूरा गरिएको परिसरले जनाएको छ। परिसरका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।