न्युरोडको गल्लीमा ७५ वर्ष पुरानो रञ्जना सोडा (भिडियो)

+
-

काठमाडौँ – सात दशकमा देशमा थुप्रै राजनीतिक परिवर्तन भए, नयाँ व्यवस्था आए, नयाँ परिवेश जन्मिए। तर, २००३ सालदेखि सुरु भएको ‘रञ्जना सोडा’भने उही रफ्तारमा चलिरहेको छ।

२००३ सालमा बुद्धिराज सुवालले सुरु गरेको यो पेसा अहिले भने उनका छोरा सुरेशले सम्हालेका छन्। सुरेशलाई उनका दुई छोरा र श्रीमतीले पनि यसमा साथ दिइरहेका छन्। उनको परिवारसहित पसलमा अन्य ३ जना स्टाफ छन्।

‘रञ्जना सोडा’मा लगभग १६–१७ वटा सोडाका फ्लेभर छन्। तर, तीमध्ये कोला, स्ट्रबेरी, म्याङगो, आरू, अनार, कागती, सुन्तला भने कस्टुमरले बढी रुचाउँछन्।

सुरेशका अनुसार सोडाका विभिन्न फ्लेभर बाहिरबाट आउँछ। र, उनीहरूले उक्त फ्लेभरलाई कनसनट्रेसन गरी मिक्स गरेर सोडा बनाउँछन्।

रञ्जना सोडामा विभिन्न खेलाडीदेखि लिएर कलाकार र गायक पनि आएको स्मरण गर्छन् सुरेश। भन्छन्, ‘स्वर्गीय गायक नारायण गोपाल पनि यहाँको सोडा खान आउनुहुन्थ्यो।’

यस्तै वसुन्धरा भुसाल, राजेन्द्र खड्गीलगायत कलाकार पनि सोडा पिउन त्यहाँ आउने बताउँछन् सुरेश।

उनका अनुसार यहाँ २२ वर्षदेखि लगातार सोडा खान आउने कस्टुमर पनि छन्। उनी भन्छन्, ‘वीर अस्पतालमा काम गर्ने एक जना भाइ हुनुहुन्छ। उहाँलाई दिनमा एकपटक यहाँको सोडा नखाइ हुन्न।’

कुनै समय दिनको ४ देखि ५ हजार मान्छेले पिउने सोडा आजभोलि भने कोक, फ्यान्टा, पेप्सी लगायतले व्यापार घटेको सुरेश बताउँछन्। भन्छन्, ‘मुख्य सडकमा पसल हुँदा त दैनिक ४–५ हजार मान्छे आउँथे। अहिले त अब जुस पनि धेरै थरीका आउन थाल्यो।’

एक ग्लास सोडाको १० पैसाबाट पर्ने मूल्य अहिले कम्तीमा ४० रुपैयाँ पर्ने सुरेश बताउँछन्। भन्छन्, ‘समयअनुसार सामान पनि महँगो हुँदै गयो र परिवर्तन हुँदै आयो।’

हालको सोडा बनाउने मेसिन उनले ८ वर्षअगाडि १३ लाख रुपैयाँमा भारतबाट ल्याएका हुन्। भन्छन्, ‘यहाँसम्म ल्याउँदा लगभग साढे १४ लाखजति पर्‍यो। समयअनुसार परिवर्तन हुनै पर्‍यो।

पुरानो मेसिनमा बढी श्रम लाग्ने भयो। इनर्जी धेरै लस हुने भयो। त्यही भएर मैले अलि एडभान्स खालको मेसिन ल्याएको।’

पहिले बिहान ६ देखि राति ११–१२ बजेसम्म खुल्ने पसल अहिले भने बेलुकी ८ बजेसम्म मात्र खुल्छ।

कसरी जन्मियो रञ्जना सोडा?

–सुरेश सुवालका पिता अर्थात् बुद्धिराज सुवाल तत्कालीन राणाकालमा ‘दिव्यलाल राजभण्डारी’नामका एक सुवेदारको घरमा काम गर्थे।

ती सुवेदारले दरबारमा सुब्बाको काम गर्थे। त्यतिबेला राणाको दरबारमा वाइनमा सोडा मिसाएर पिउँथे। दरबारमा हुने रात्रिभोजमा सोडा अनिवार्यजस्तै थियो।

नजिकका नातेदारलाई राणाहरूले सोडा मेसिन उपहार दिने क्रममा एकदिन त्यो मेसिन ‘दिव्यलाल राजभण्डारी’को घरमा पनि पुग्यो।

त्यसै क्रममा उनै सुवेदारले बुद्धिराजलाई पनि सोडा बनाउन सिकाए। र, आफूले भन्दा पनि बुद्धिराजले बनाएको सोडा राम्रो भएको भन्दै उनले उक्त मेसिन बुद्धिराजलाई सुम्पिए।

त्यतिबेला बुद्धिराजले पनि सोडालाई घर–घरमा मात्र सप्लाई गर्थे। तर, २००३ सालपछि भने उनले पसल नै खोलेर व्यापार गर्ने निधो गरे।

बुद्धिराजले न्युरोडको विशाल बजारस्थित जनसेवा हल नजिक एउटा पसलमा पहिलोपटक सोडा व्यवसाय सुरु गरे। व्यवसाय चल्दै गर्दा २०१९ सालको आन्दोलनमा जनसेवा हल जलाइयो। त्यसपछि बुद्धिराजले कहिले पार्क त कहिले पिपलबोटमा कुर्सी राखेर पसल चलाए।

तर, जब न्युरोडमा रञ्जना हल खुल्यो त्यहाँ मानिसको चहलपहल हुन थाल्यो। बद्धिराजले पनि त्यही मौकामा हलअगाडि एउटा सानो स्पेसमा सोडा व्यवसाय सुरु गरे।

त्यहाँ रञ्जना हल खुलेपछि त्यस ठाउँकै नाम रञ्जना गल्ली हुन पुग्यो। र, बुद्धिराजको पसलको नाम पनि ‘रञ्जना सोडा’ हुन पुग्यो। दिन बित्ने क्रममा सुरेश र उनका भाइ नरेशले पनि आफ्ना बाबुबाट सोडा बनाउन सिके।

६ वर्षको उमेरदेखि नै सोडा व्यवसायमा सुरेशको ध्यान तानिए पनि उनमा कामको अनुभव भने २०३४–२०३५ सालदेखि भएको हो।

स्कुल पढ्दै गर्दा नै आमाको निधन भएपछि सुरेशले आफ्नो पूरा समय नै पसललाई दिन थाले। तर, कहिले के त कहिले के समस्याका कारण पसल धेरै ठाउँमा सार्नुपर्‍ यो। पसल सार्दा सार्दै हैरान खेपेका सुरेश भगवान्सँग एउटा दिगो ठाउँका लागि प्राथना गर्ने गर्थे रे!

तर, २०६९ सालपछि भने सुरेश एकैठाउँमा छन्। भन्छन्, ‘सायद भगवान्ले मेरो प्राथना सुन्नुभयो।’

सुरेशका अनुसार सोडा खानुका धेरै फाइदा छन्। भन्छन्, ‘यसले ग्यास्ट्रिकबाट राहत दिन्छ, टाउको दुख्दा सोडा खाएमा यसले हल्का गराउँछ, खाना पचाउन पनि सहयोग गर्छ।’

तेस्रो पुस्तासम्म आइपुगेको रञ्जना सोडा फैलिने क्रममा छ। पाटन, भक्तपुर, कीर्तिपुरलगायत विभिन्न ठाउँका पसलमा यहाँको सोडा बिक्री गरिन्छ।

सुरेश आफ्नो काममा जति ध्यान दिन्छन् त्यति नै सजग उनी कस्टुमरको स्वास्थ्यप्रति पनि छन्। त्यसैले रञ्जना सोडाको गुणस्तरमा कमी नआवस भनेर उनी समय मिलाएर ग्यास कारखाना निरीक्षण गर्न पनि पुग्छन्।

तीता अनुभव सेयर गदै उनी भन्छन्, ‘काम गरेर खान पनि गाह्रो भयो। कसैले यो पसल हटाउ यहाँ धेरै क्राउड भयो भन्छ।’

समयले साथ दिएमा यसका अरु ब्रान्च पनि खोल्ने योजनामा छन् सुरेश। सुरेश अहिलेका पिँढीलाई पनि यही कामलाई निरन्तरता दिन सुझाव दिन्छन्।

विदेश जानुभन्दा स्वदेशमै बसेर काम गरेमा नाम र दाम दुवै हुने उनको तर्क छ। भन्छन्, ‘यो काम सिकेर यस्तै खालको अरू काम आफूले पनि गर्न सकिन्छ। काम नभएर मान्छे विदेशमा गइराछ। तर, यहीँ भएको सीपलाई मान्छेले उपयोग गर्न जान्दैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?