
काठमाडौँ – नेपाल बार एसाेसियसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि मंगलबार बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ।
नेपाल बार एसाेसियसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र मंगलबार बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यक्तिगत र समूहगत रूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसदमा प्रतिनिधि नभएको साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्। नेमकिपा समर्थित कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जधारीले अध्यक्षमा उम्मेदवारी दिएकी छन्।
व्यक्तिगत रूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाेले अध्यक्षको उम्मेदवारी दिएका छन्। संसदमा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्। –रासस