
जनकपुरधाम – जनकपुरधाममा विश्वस्तरीय क्यान्सर अस्पताल बन्ने भएको छ। विनयतारा क्यान्सर ट्रस्टले जनकपुरधामको लोहनामा २०० शय्याको सुविधा सम्पन्न क्यान्सर अस्पताल बनाउन लागेको हो।
फाउन्डेसनका अध्यक्ष डा. विनय साहले विनयतारा फाउन्डेसन (अमेरिका) सँगको सहकार्यमा निर्माण गर्न लागेको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) आधुनिक अमेरिकी क्यान्सर अस्पतालजस्तै हुने बताए।
करिब १ अर्ब २५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सो अस्पताल ०२५ सम्म निर्माण पूरा हुने उनले बताए।
पहिलो चरणमा १ लाख वर्ग फुटमा सञ्चालन हुने उक्त अस्पताल सन् २०२५ सम्म १०० शय्याको भवन निर्माण गरिसक्ने डा. साहले बताए। उनले यो अस्पताल दक्षिण एसियाकै आधुनिक अस्पतालको रूपमा स्थापित हुने दाबी छ।
जनकपुरधाममा हाल बिटिएफसिसीको २५ शय्याको अस्पताल सञ्चालनमा रहेकोमा निर्माण पूरा भएपछि बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको उनले बताए।
वैशाख २ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त अस्पतालको शिलान्यास गर्नेछन्।