
माेरङ- विवेकशील साझा पार्टीले माेरङ जिल्लामा विराटनगर महानगरपालिकासहित ६ वटा पालिकामा उम्मेदवारी दिने तय गरेकाे छ ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अमलेश कर्णका अनुसार महानगरपालिकामा ६ जनालाई मेयरका लागि सिफारिस गरिएको छ ।
मेयरका आकांक्षी कर्णले महानगरपालिकामा आफूसहित पशु चिकित्सक एवं प्रदेश संयोजक डा. बोधराज पराजुली, नगर संयोजक अच्युत गिरी, भुवन थापा, वीरेन्द्र गुप्ताको नाम केन्द्रमा सिफारिस गरिएको जानकारी दिए।
अन्य स्थानीय तहमा समेत उम्मेदवारी दिने जनाएका संयोजक कर्णले महानगरपालिकाको १९ वटा वडामा पार्टीको आन्तरिक संगठन बलियो भएको जिकिर गरे ।
निर्वाचनका लागि अन्य दलले तालमेलका लागि कुरा ल्याए सोच्न सकिने बताएका कर्णले हालसम्म भने पार्टीबाट कुनै पनि दलसँग मिलेर अघि बढ्ने विषयमा निर्णय नगरेको प्रस्टाए।
यसअघि प्रदेशमा प्रतिनिधि सभाको निर्वाचनबाट मैदानमा उत्रिएको विवेकशीललाई यसपटक जनताले विश्वास गर्नेमा उनी विश्वस्त रहेका बताएका छन् ।
सोही अनुसार जिल्लाको ५ वटा पालिकामा मेयर र वडातहमा बलियो संगठनसहित चुनावी मैदानमा उत्रिने उनको भनाइ छ।
यसक्रममा विवेकशीलले मोरङको जहँदा गाँउपालिकामा मेयर इन्जिनियर अनिल यादवसहित सबै ९ वडामा उम्मेदवारी दिने भएको छ ।
त्यसैगरी, कटहरी गाँउपालिकामा राजा ठाकुर, सुन्दरहरैंचा नगरपालिकामा हेमन्त भट्टराई, उर्लाबारी नगरपालिकामा भरत शर्मा, र बुढीगंगा गाँउपालिकामा आशिक भगतलाई प्रमुखका रूपमा अघि बढाउने निर्णय गरेको छ ।
यद्यपि हालसम्म यी पालिकामा उपमेयरबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।
वैशाख १० गतेभित्र सबै पालिकामा उम्मेदवारको अन्तिम नामावाली आउने बताएका कर्णले जिल्लाको बाँकी पालिकामा समेत उम्मेदवारी दिनका लागि आन्तरिक छलफल भइरहेको जानकारी दिए ।
विवेकशीलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम, झापा, मोरंग, र सुनसरीमा चुनावी प्रतिस्पर्धा गरेको थियो । जसमा मोरङकाे क्षेत्र नम्बर ४ बाट कर्णले उम्मेदवारी दिएका थिए ।