
चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षेले शान्तिपूर्ण रूपमा विरोध गर्ने नागरिकको अधिकारमा बाधा नपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे बताएका हुन्।
राष्ट्रपति राजापाक्षेले रामबुकनामा भएको घटनाको श्रीलंका प्रहरीले निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान गर्ने दावी गरे।
उनले घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा हिंसा नगर्न सबै नागरिकलाई अपिलसमेत गरेका छन्।
श्रीलंकामा आर्थिक संकटको बीचमा त्यहाँका नागरिकहरूले धेरै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। मंगलबार पनि त्यस्तै प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको थियो।
रिपोर्टका अनुसार श्रीलंकाको प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न गोली चलाउनुपरेको बताएको छ।
देशमा जारी विरोध प्रदर्शनमा धेरै मानिसले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन्। तर, अहिलेसम्म राष्ट्रपतिले राजीनामा दिएका छैनन्।
यसबीचमा सम्पूर्ण मन्त्रिपरिषद्ले राजीनामा दिएका थिए। तर, अहिले त्यहाँ नयाँ मन्त्रिपरिषद्ले सपथ लिइसकेका छन्।