
काठमाडाैँ- गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा एमालेलाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो।
नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो। वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो।
कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन्। उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाएका छन्।
उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ। कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाएकी छन्। उनलाई पछ्याउँदै एमालेकी सान्नानी लामाले पाँच हजार ८३६ मत प्राप्त गरेकी छन्।
वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी
वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित भएकाे नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए। उनी एक हजार ७५५ मत ल्याई विजयी भए।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत ल्याइन्। सुवेदी प्यानलसहित निर्वाचित भएका हुन्।
नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ। जसमध्ये २४ हजार २४२ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो।
नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो। यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ।
दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ। नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ।
नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ। वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए। वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ।