
काठमाडौँ – बुधबारदेखि विवादमा आएको एक यौन दुर्व्यवहारको प्रकरणमा नायिका पूजा शर्माले पीडित भनिएकी युवतीको पक्षमा बोलेकी छन्।
उनले फेसबुकमा उक्त पीडितको भिडियो साझा गर्दै यो एक पीडितमाथि हुने शारिरीक हिंसा नभएर मानवतामाथिको आक्रमण भएको उल्लेख गरेकी छन्।
उनले भगवानको नाम लिँदे लेखेकी छन्, ‘उनी शक्तिशाली छिन्, किनभने उनी डराउँदैनन्। तिमी अगाडि बढ, हामी तिम्रो साथमा छौँ, यो संसारलाई उसको निर्दयी अनुहार देखाउन।’
पीडित युवतीले अहिलेसम्म आफूमाथि यौन दुर्व्यवहार गर्नेको सन्दर्भ मात्रै उल्लेख गरेकी छन्। यो प्रकरण प्रहरी अनुसन्धानको दायरामा पनि पुगिसकेको छैन। प्रहरीले पीडित युवतीलाई सम्पर्क गर्न खोजिरहेको छ।
नायिका पूजा शर्मा यो भन्दा केही समय अगाडिको चर्चित यौन दुर्व्यवहार ‘पल शाह प्रकरण’ मा भने बलात्कार आरोप लागेका नायक पलको पक्षमा उभिएकी थिइन्।
उनले पल दुराचारी हुनै नसक्ने भन्दै ‘बलात्कार भनेको नै बुझ्न सकिरहेको छैन’ भन्ने सम्मको अभिव्यक्ति पनि दिएकी थिइन्।
यो प्रकरणमा भने उनले पीडितको साथमा आफू रहेको उल्लेख गरेकी छन्।