
काठमाडौँ – बुधबारदेखि विवादमा आएको एक यौन शोषण प्रकरणमा नेपाली कलाकारहरुले आफ्नो अभिव्यक्ति राखेका छन्।
ब्युटी प्याजेन्टमा सहभागी एक मोडलले आफूमाथि मोडलिङ कन्सलट्यान्सीका मालिकले यौन शोषण गरेको भनी आरोप लगाएकी छन्।
अभिनेत्री स्वस्तिमा खड्काले आफू पीडित भनिएकी युवतीको अस्पतालको भिडियो स्टोरीमा राख्दै यो घटनाले उनको मन छियाछिया भएको बताएकी छन्। उनले पीडितको पीडाको अनुमान लगाउन नसकिने भन्दै पीडितले न्याय पाउनुपर्ने बताएकी छन्।
पीडितले सार्वजनिक भएको भिडियोमा आफूले पाउनुपर्ने माया, सम्मानको लायक नभएको भनी आत्मग्लानि गरेको विषयमा अभिनेत्री ऋचा शर्माले सहानुभूति देखाएकी छन्। उनले ‘तिमीबाट चुँडालिएको तिम्रा खुसी, सुखको लागि योग्य रहेको’ भन्दै सधैँ पीडितको पक्षमा रहने बताएकी छन् । उनले पीडित धेरे बलियो भएको भन्दै उनी एक्लै नभएको बताएकी छन्।
नायिका तथा निर्मात्री केकी अधिकारीले अनिता पण्डितको पोस्ट साझा गरेकी छन्। उक्त पोस्टमा यौन शोषणको घटनामा राज्य र सरोकारवाला निकाय जवाफदेही हुनुपर्ने लेखिएको छ।
नायिका प्रियंका कार्कीले पीडित युवतीले भोगको दुखको कल्पना गर्न नसक्ने बताएकी छन्। उनले पीडितको आवाज सुन्न नसकेकोमा माफी मागेकी छन्। उनले उनी एक्लो नरहेको भन्दै आवाजमा ठूलो शक्ति रहको उल्लेख गरेकी छन्।
नायिका पूजा शर्माले भने यो यातनाको घटना मानवता माथिको आक्रमण रहेको बताएकी छन्।
शर्मा पल शाहमाथि बलात्कारको आरोप लाग्दा भने आरोपितकै पक्षमा उभिएकी थिइन्।