
वैदिक परम्पराअनुसार मानवजीवनका चार पुरुषार्थ— धर्म, अर्थ काम र मोक्ष हुन्। तथापि यहाँ पुरुषार्थ भनेर कर्म, उद्यम र परिश्रमलाई बुझाउन खोजिएको हो। यसभन्दा अघिल्लो लेखमा वैदिक धर्ममा श्रमको महत्त्व के–कस्तो छ भन्ने विषयमा चर्चा गरिएको थियो। कर्म वा श्रमको अत्यन्त महत्त्व भए पनि भाग्यले साथ नदिएमा कर्म गरेर पनि जीवनमा सफलता प्राप्त गर्न सकिँदैन भन्ने मान्यता पनि छ। त्यसैले यस लेखमा कर्म र भाग्यका विषयमा केही विवेचना गर्न खोजिएको छ।
नेपाली समाजमा ‘भाग्यको खेल, दैवको लीला, नियतिको खटन’ इत्यादि भनाइ लोकव्यवहारमा चलेका छन्। सत्कर्म गर्दागर्दै पनि त्यसको सुफल कसै–कसैले नपाउने गरेको पनि देखिन्छ। तसर्थ पुरुषार्थ वा कर्म के हो, भाग्य वा दैव के हो र मानवजीवनलाई सफल बनाउन यिनको के–कस्तो भूमिका रहन्छ भन्ने विषयमा पनि यस सन्दर्भमा विचार गर्नुपर्ने देखिन्छ।
वैदिक धर्मले व्यक्तिलाई भाग्यमा भर पर्ने नबनाएर सधैँ पुरुषार्थ (पौरख) गर्न प्रेरित गरेको छ। तथापि सफलता प्राप्त गर्नचाहिँ भाग्य वा दैवले पनि साथ दिनुपर्ने हुन्छ। उस्तै–उस्तै कर्म गर्दा सबैले उत्तिकै फल पाउनुपर्ने थियो तर व्यवहारमा त्यस्तो भएको देखिँदैन। त्यसैले पुरुषार्थको बल र दैवको बल दुवैको यथास्थान महत्त्व रहेको देखिन्छ भन्ने बुझिन्छ। तथापि, दैवबललाई पुरुषार्थका बलले जित्न प्रयास गर्नुपर्छ र ठूला पुरुषार्थका बलले निर्बल दैवबललाई जित्न पनि सकिन्छ।
वैदिक वाङ्मयका विभिन्न ग्रन्थमा दैवबल र पौरुषबलमध्ये कुन बलियो हुन्छ, कुन दुर्बल हुन्छ भन्ने कुराको स्पष्टीकरण गरेर मानिसलाई पौरख गर्न प्रेरणा गरिएको छ। आयुर्वेदको ग्रन्थ चरकसंहितामा दैव र पुरुषार्थको लक्षण यसरी बताइएको छ—
दैवमात्मकृतं विद्यात्
कर्म यत् पौर्वदेहिकम्।
स्मृतः पुरुषकारस् तु
क्रियते यदिहाऽपरम्।।—विमानस्थान ३।३०।
अर्थात्— दैव भनेको आफैँले पूर्वजुनीमा गरेको कर्म हो भने पुरुषार्थचाहिँ यसै जुनीमा गरेको कर्म हो। यसबाट दैव अहिले आफ्ना अधीनमा नभएको तर पुरुषार्थचाहिँ अहिले आफ्नै अधीनमा भएको हुनाले पुरुषार्थमा जोड दिनुपर्छ भन्ने समेत बुझिन्छ। धर्मशास्त्रीय ग्रन्थ याज्ञवल्क्यस्मृतिमा पनि दैव र पुरुषार्थको राम्ररी विवेचना गरिएको छ। जस्तै—
दैवे पुरुषकारे च
कर्मसिद्धिव्र्यवस्थिता।
तत्र दैवमभिव्यक्तं
पौरुषं पौर्वदेहिकम्।।—१।३४९।
दैव (भाग्य) र पुरुषार्थ (कर्म) दुवैका आधारमा कर्मको इष्ट वा अनिष्ट फल पाइन्छ। यी दुईमध्ये दैव भनेको यस जन्ममा थोरै प्रयत्न गरेर धेरै फल दिने आफैँले पूर्वजन्ममा गरेको कर्म हो भने पुरुषार्थचाहिँ यसै जन्ममा गरेको कर्म हो। यसबाट भाग्य भनेको पनि कर्म नै हो भन्ने स्पष्ट हुन्छ। पूर्वजन्ममा गरेका कर्मकै आधारमा यस जन्ममा भाग्य बन्ने भएकाले त्यसको फल पनि भोग्नै पर्ने हुन्छ। भाग्य राम्रो भए पनि त्यसलाई अभिव्यक्त गर्न भने यस जुनीमा पनि कर्म गर्नै पर्छ। यो कुरा “भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिदैन” भन्ने नेपाली लोकोक्तिले पनि स्पष्ट पारेको छ।
केचिद् दैवात् स्वभावाद् वा
कालात् पुरुषकारतः।
संयोगे केचिदिच्छन्ति
फलं कुशलबुद्धयः।।—१।३५०।
कोही इष्ट वा अनिष्ट फललाई भाग्यको फल भन्दछन्। कोही यसलाई स्वाभाविक मान्दछन्, फल प्राप्त हुनमा कुनै विशेष कारण रहेको मान्दैनन्। कोही काललाई फलप्राप्तिमा कारण मान्दछन्। कोही पुरुषार्थलाई नै फलको कारण मान्दछन्। कोही बुद्धिमान् व्यक्तिहरू भने उक्त सबै कुराको संयोगबाट इष्ट वा अनिष्ट फल पाइने हो भनेर मान्दछन्। यसबाट प्राचीन कालमा पनि मान्छेले के–कसरी के–कति कारणले राम्रो वा नराम्रो फल यस जुनीमा पाउँछ भन्ने विषयमा विभिन्न मत रहेको बुझिन्छ। तर पछिल्लो मतलाई नै स्मृतिकार याज्ञवल्क्यले समर्थन गरेको देखिन्छ।
यथा ह्येकेन चक्रेण
रथस्य न गतिर्भवेत्।
एवं पुरुषकारेण
विना दैवं न सिध्यति।।—१।३५१।
जसरी एउटा मात्र चक्काले रथ चल्न सक्तैन, त्यसरी नै पौरखविना भाग्य सिद्ध हुँदैन। यसबाट भाग्यले फल कस्तो दिन्छ भन्ने कुरा अहिले व्यक्तिले गर्ने कर्मले निर्धारण गर्न सक्छ भन्ने बुझ्न सकिन्छ। महाभारतमा भाग्यवादीको निन्दा र कर्मवादीको प्रशंसा गरिएको देखिन्छ—
यश् च दिष्टपरो लोके
यश् चाऽपि हठवादिकः।
उभावपि शठावेतौ
कर्मबुद्धिः प्रशस्यते।।—वनपर्व ३२।१३।
लोकमा जो भाग्यवादी र हठवादी छन्, ती दुवै शठ (स्वाँठ) हुन्। कर्मवादीचाहिँ प्रशंसनीय हुन्छ। यस श्लोकले भाग्यवादी हुनु भनेको मूर्खता अँगाल्नु हो भन्ने स्पष्ट पारेको छ। मुक्तिकोपनिषद्मा वासनारूपी नदी शुभ र अशुभ मार्गमा चल्ने हुँदा पुरुषले प्रयत्न गरेर त्यसलाई शुभ मार्गमा हिँडाउन पर्छ भनिएको छ—
शुभाशुभाभ्यां मार्गाभ्यां
वहन्ती वासनासरित्।
पौरुषेण प्रयत्नेन
योजनीया शुभे पथि।।—२।५–६।
उद्योग गर्ने उत्तम पुरुषका नजिक लक्ष्मी आउँछिन्। दैवले लक्ष्मी दिनुपर्छ भनेर नीच पुरुषहरू भन्दछन्। दैवलाई उपेक्षा गरेर आफ्नो शक्तिअनुसार पुरुषार्थ गर। यदि प्रयत्न गर्दा पनि उद्देश्य सिद्ध भएन भने यसमा तिम्रो के दोष छ र ? कर्म तिम्रो अधीनमा छ, तर फल तिम्रो अधीनमा छैन।
यसबाट पूर्वजन्मका कर्मका आधारमा कुमार्गमा चल्न खोज्ने वासनालाई पनि यस जन्मका सत्कर्मका आधारमा सुमार्गमा लगाउन सकिन्छ भन्ने कुरा बुझिन्छ। साथै कर्मका आधारमा भाग्यलाई जित्न प्रयास गर्नुपर्छ भन्ने सन्देश पनि यसबाट पाइन्छ। योगवासिष्ठमा पूर्वजन्मका र यस जन्मका पुरुषार्थ दुई भेडाझैँ परस्पर लड्छन् र जो कमजोर हुन्छ ऊ शान्त हुन्छ भनिएको छ—
द्वौ हुडाविव युध्येते
पुरुषार्थौ समासमौ।
प्राक्तनश्चैहिकश्चैव
शाम्यत्यत्राऽल्पवीर्यवान्।।—२।५।५।
यसबाट भाग्य र पौरखको लडाइँमा जो बलियो हुन्छ, त्यसले जित्दछ भन्ने सिद्धान्त बुझिन्छ। अतः उत्कट पौरखले भाग्यलाई बदल्न पनि सकिन्छ भन्ने सिद्धान्त वैदिक धर्ममा मानिएको देखिन्छ।
मार्कण्डेयपुराणमा जो कर्मशील हुन्छन् तिनले जे चाहे पनि प्राप्त गर्न सक्छन् भनिएको छ। जस्तै— देवत्व, देवताहरूको प्रभुत्व, देवताहरूको पूज्यत्व र अरू पनि आफूले चाहेको जुनसुकै कुरा पनि व्यवसायी मानिसहरूले प्राप्त गर्दछन्—
देवत्वममरेशत्वं
तत्पूज्यत्वं च मानवाः।
प्रयान्ति वाञ्छितं चाऽन्यद्
दृढं येव्यवसायिनः।।—१८।३६–३७।
निरन्तर उद्योग गर्ने उद्योगी व्यक्तिका निम्ति यस लोकमा र स्वर्गमा पनि अप्राप्य वस्तु केही छैन भन्ने कुरा पनि मार्कण्डेयपुराणमै बताइएको छ १८।३७–३८)। यसबाट दैवभन्दा पुरुषार्थ नै बलवान् हुन सक्छ भन्ने कुरा पनि बुझिन्छ। स्कन्दपुराणमा पनि उद्योगबाट कहिल्यै पछि हट्नुहुँदैन, विपरीत भएको दैव पनि उद्योगीसित खिन्न हुन्छ र निरन्तर उद्योग गर्नेलाई दैवले नै सहायता गर्दछ भनिएको छ काशीखण्ड, ५३।४७, ७६।६४)। शास्त्रमा धेरैतिर कर्मको र उद्योगको महत्त्व देखाएर यिनले मान्छेका भाग्यलाई पनि परिवर्तन गर्न सक्छन् भनिएको छ। जस्तै विष्णुधर्मोत्तरपुराणमा—
स्वमेव कर्म दैवाख्यं
विद्धि देहान्तरार्जितम्।
तस्मात् पौरुषमेवेह
श्रेष्ठमाहुर् मनीषिणः।।—२।६६।२–११।
दैव भनेको अर्को (पहिलेको)देहले आर्जन गरेको आफ्नै कर्म हो भनेर जान। त्यस कारण यस लोकमा पुरुषार्थ नै श्रेष्ठ हो भनेर विद्वान्हरूले बताएका छन्। यस श्लोकबाट दैव र पुरुषार्थ दुवै आफैँले गरेका कर्म नै हुन् भन्ने पनि बुझिन्छ।
अलसानां मनुष्याणां
सदा दुःखं दरिद्रता।
आलस्यं पातकं लोके
आलस्यं भूतिनाशनम्।।—३।२९५।१।
अल्छी मानिसहरूलाई सधैँ दुःख र दरिद्रता प्राप्त हुन्छ। लोकमा आलस्य पाप मानिएको छ। आलस्यले ऐश्वर्यको विनाश गर्दछ। ऋग्वेदमा (१०।२२।८) पनि “अकर्मा दस्युः” भनेर कर्म नगर्ने अल्छीलाई दस्यु (डाँका) भनेर निन्दा गरिएको छ। योगवासिष्ठमा पूर्वजन्मको कर्मलाईभन्दा यस जन्मको कर्मलाई बलवान् मानिएको छ—
प्राक्तनं चैहिकं चेति
द्विविधं विद्धि पौरुषम्।
प्राक्तनोऽद्यतनेनाऽऽशु
पुरुषार्थेन जीयते।।—२।४।१७।
पूर्वजन्मका र यस जन्मका गरेर दुई प्रकारका पुरुषार्थ हुन्छन्। अहिलेका पुरुषार्थले पूर्वजन्मका पुरुषार्थलाई जित्दछ। अतः हामीले यसै जन्मका कर्मलाई महत्त्व दिनुपर्छ भन्ने तात्पर्य यस श्लोकको हो।
शास्त्रमा आलस्यको वा भाग्यवादको धेरै निन्दा गरेर मानिसलाई उद्यमशील हुन सारै प्रेरणा गरिएको छ। पराशरपुराणमा वर्तमान जन्मका अति उत्कट कर्मले त प्रारब्धकर्मलाई समेत फल दिनबाट रोकेर उत्तिखेरै फल दिन थाल्दछ भन्ने कुरा समेत देखाइएको छ—
अत्युत्कटैरिहत्यैस्तु
पुण्यपापैः शरीरभृत्।
प्रारब्धं कर्म विच्छिद्य
भुङ्क्ते तत्फलमेव हि।।—१८।८२–८३।
वेदादिशास्त्रका वचनहरूको विचार गर्दा र जैमिनीय–धर्ममीमांसाशास्त्रमा “दृष्टले (अर्थात् प्रत्यक्ष देखिएका कुराले उपपन्न सिद्ध) हुनसक्ने कुरामा अदृष्टको (प्रत्यक्ष देख्न नसकिने कुराको) कल्पना गर्न उचित हुँदैन” भन्ने न्याय नै स्वीकृत भएको दृष्टे सम्भवति अदृष्टकल्पनाऽशक्या। (शबरस्वामी, ९।३।३, १०।२।२३,३४) कुराको विचार गर्दा तिनै शास्त्रका आलोकमा चल्ने वैदिकधर्मलाई सर्वथा भाग्यवादी र पौरखको विरोधी मान्न सकिँदैन।
वैदिकधर्ममा र परम्परामा जुन परिस्थितिका लागि लौकिक कारण केही पनि दिन सकिँदैन त्यसै परिस्थितिलाई मात्रै भाग्यको वा पूर्वजन्मका कर्मको फल मानिन्छ भन्ने कुरा र पुरुषार्थ सर्वथा विफल हुँदा चित्तशान्ति गर्न त्यो कुरा देखाइन्छ भन्ने कुरा महाभारत इत्यादिग्रन्थका विभिन्न प्रकरणका वचनहरूका विचारबाट बुझिन्छ। केही वचनहरू हेरौँ—
कुले जन्म तथा वीर्य–
मारोग्यं रूपमेव च।
सौभाग्यमुपभोगश् च
भवितव्येन लभ्यते।।—शान्तिपर्व २८।२३।
उच्च कुलमा जन्म, बल, निरोगिता, सौन्दर्य, सौभाग्य र विभिन्न प्रकारका भोगहरू भाग्यले पाइन्छन्। यी कुरा यस जन्ममा बल गरेर कर्म गर्दैमा पाइँदैनन् भन्ने तात्पर्य यस श्लोकको हो।
सन्ति पुत्त्राः सुबहवो
दरिद्रााणामनिच्छताम्।
नास्ति पुत्त्रः समृद्धानां
विचित्रं विधिचेष्टितम्।।—शान्तिपर्व २८।२४।
इच्छा नभएका दरिद्र मान्छेहरूका धेरै सन्तान भएका पनि देखिन्छन् भने समृद्ध मान्छेहरूको एउटा पनि सन्तान नभएको देखिन्छ। दैवको खेल विचित्रको छ। आफूले चाहेर मात्र अथवा बल गरेर मात्र सबैथोक प्राप्त हुन सग्दैन, दैवले पनि साथ दिनुपर्छ भन्ने यस श्लोकको आशय हो।
दृश्यते हि युवैवेह
विनश्यन् वसुमान् नरः।
दरिद्रश् च परिक्लिष्टः
शतवर्षो जरान्वितः।।—शान्तिपर्व २८।२७।
यहाँ धनी व्यक्ति युवावस्थामै मरेको पनि देखिन्छ। दरिद्र व्यक्तिचाहिँ बुढ्यौली भोग्दै अनेक प्रकारका दुःख पाउँदै सय वर्षसम्म बाँचेको पनि देखिन्छ। यस्तो देख्दा उल्टो घटना घटेकोजस्तो पनि लाग्न सक्छ, तथापि दैवका अगाडि कसैको केही लाग्दैन, त्यसैलाई स्वीकार गरेर चित्त बुझाउन पर्छ भन्ने निष्कर्ष यस श्लोकको हो।
वैदिक नीतिशास्त्रका परम्पराको एउटा प्रमुख सानो ग्रन्थ हितोपदेशको प्रस्ताविकाको एउटा अत्यन्त प्रसिद्ध श्लोकबाट पनि पौरखको महत्त्व स्पष्ट रूपमा बुझ्न सकिन्छ—
उद्योगिनं पुरुषसिंहमुपैति लक्ष्मीर्
दैवेन देयमिति कापुरुषा वदन्ति।
दैवं ह्युपेक्ष्य कुरु पौरुषमात्मशक्त्या
यत्ने कृते यदि न सिध्यति कोऽत्र दोषः।।
उद्योग गर्ने उत्तम पुरुषका नजिक लक्ष्मी आउँछिन्। दैवले लक्ष्मी दिनुपर्छ भनेर नीच पुरुषहरू भन्दछन्। दैवलाई उपेक्षा गरेर आफ्नो शक्तिअनुसार पुरुषार्थ गर। यदि प्रयत्न गर्दा पनि उद्देश्य सिद्ध भएन भने यसमा तिम्रो के दोष छ र ? कर्म तिम्रो अधीनमा छ, तर फल तिम्रो अधीनमा छैन भन्ने पनि यसको सन्देश हो।
यस स्थितिमा वैदिकधर्मले मानिसलाई भाग्यवादी बनाएकाले हिन्दू राष्ट्रको विकास हुन नसकेको हो भनेर लेख र पुस्तक लेख्नेहरूलेवास्तविक तथ्य नबुझेको कुरा स्पष्ट हुन्छ। वैदिक धर्म कर्मवादी हो। यसले सधैँ सुकर्म वा पुरुषार्थ गर्न प्रेरणा दिइरहन्छ। भाग्य भनेको पनि पूर्वजन्मको कर्मकै फल हो। उत्कट कर्मले भाग्यलाई पनि बदल्न सकिन्छ। त्यसैले सुकर्म गर्नुपर्छ। ढिलोचाँडो यसै जुनीमा वा अर्को जुनीमा कर्मको फल अवश्य पाइन्छ।