
काठमाडाैँ- बागमती प्रदेश सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार नभएको गुनासो गरेका छन्।
प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।
सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।
स्वतन्त्र सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताए।
उनले भने, ‘गएको वर्ष बागमती प्रदेशका पहाडी भूभागमा बाढी पहिरोको प्रकोप धेरै बढ्यो। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नै तहसनहस भयो। धादिङ, दोलखा, नुवाकोट लगायतका जिल्लाहरूमा पनि धेरै क्षति पुर्यायाे। त्यसैले अहिले हामीले कम्तीमा प्रदेश सरकारको तर्फबाट घटना भइसकेपछि राहत दिने भन्दा पनि पूर्व तयारीको हिसाबले काम गर्नुपर्छ भन्ने ढंगले आवाज उठायौँ। तर अहिले नीति तथा कार्यक्रम आउँदा पनि त्यसलाई गहिराइमा पुगेर सम्बाेधन गर्न सकिएको पाइएको छैन। नीति तथा कार्यक्रम अहिले ससाना योजनालाई पनि प्राथमिकता दिएर पैसा छुट्याइरहेको छ। हाम्रो तालमेल स्थानीय तहसँग नमिलिरहेको जस्तो भएको छ। प्रदेशले नै साना योजनामा हात हाल्दा संविधान अनुकुल हुँदैन। यसमा नवीनता केही देखिँदैन।’
यता, नेकपा एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरले भने आगामी वर्षको लागि बागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरूको तुलनामा राम्रो भएको दाबी गरे।
उनले भने, ‘नीति तथा कार्यक्रम अगाडिको वर्षहरूको तुलनामा गठबन्धनको सरकारले ल्याएको चुस्त दुरुस्त छ। किनभने एउटै मात्र मान्छेले मस्तिष्क मन्थन गरेर तयारी गरिएका कुराभन्दा धेरै साथीहरू बसेर मस्तिष्क मन्थन गरेर ल्याएका कुरा चुस्त दुरुस्त हुन्छ। ५ वटै पार्टीका साथीहरूबीचमा छलफल गरेर ल्याएको कार्यक्रम राम्रो छ।’
सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताए।
उनले भने, ‘किसानसँग सम्बन्धित कुराहरू नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ। महिलासँग पनि त्यत्तिकै ओझिलो नीति तथा कार्यक्रम छ। जस्तै, छोरीबुहारीलाई सामुदायिक कलेजमा स्कलरसीप (छात्रवृत्ति) र पहिला शिक्षा प्रदान गर्ने भन्ने विषयवस्तु राम्रो छ। त्यस्तै, मजदुर संगठनसँग सम्बन्धितका कुरा लगायतका धेरै कार्यक्रमहरू यो नीति तथा कार्यक्रमले समेटेको छ। सरकारले नीति तथा कार्यक्रम ओझिलो र गहकिलो ल्याएको छ। यो बजेट राम्रो रहेछ भन्ने कुरा नागरिकले अनुभुति गर्नेछन्।’
समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताइन्।
बागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ।