
दाङ – उच्च अदालत तुलसीपुरको आदेशपछि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला सय दिनपछि खुलेको छ।
नेपाल विद्यार्थी संघले वैशाख १९ गते लगाएको ताला सय दिनपछि खुलेको हो। आफ्ना माग पूरा नभएको भन्दै नेपाल विद्यार्थी संघले तीन महिनासम्म पनि ताला खोल्न मानेको थिएन।
उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै ताला खोल्न अन्तरिम आदेश जारी गरेपछि नेपाल विद्यार्थी संघले बुधबार ताला खोलेको हो। नेबिसंघले उपकुलपतिको कार्यकक्ष, कुलसचिवको कार्यालय, शिक्षाध्यक्षको कार्यकक्ष र आर्थिक प्रशासनमा लगाएको ताला खोलेको हो।
ताला खोल्दै नेबिसंघका केन्द्रीय प्रतिनिधि अभयप्रताप चौवेले अदालतको आदेशको पालना गर्दै ताला खोलिएको बताए। ताला खोले पनि आन्दोलन नरोकिने र आन्दोलनका स्वरुपहरु परिवर्तन हुने बताएका छन।
आन्दोलनका कार्यक्रम जारी नै रहने जानकारी दिए।
बैशाख १९ गते नेविसंघ संस्कृत विश्वविद्यालय संघर्ष समितिले विश्वविद्यालयमा भएको अनियमितता छानबिन गर्नुपर्ने, १० वर्षदेखि रोकिएको दीक्षान्त तीन महिनाभित्र हुनुपर्ने, छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्नेलगायतका १४ बुँदे माग राखेर ताला लगाएको थियो।