
काठमाडौँ – पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भक्तजनको जुत्ता-चप्पल नि:शुल्क रुपमा राख्ने व्यवस्था रहेको र कसैले पैसा मागेमा नदिन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।
नियमित रुपमा जुत्ता-चप्पल राख्ने ठाउँमा नि:शुल्क राख्ने व्यवस्था कायम रहेको क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दाबी गरेका छन्।
तर दर्शनका लागि पशुपति पुगेका भक्तजनले भने जुत्ता-चप्पल राख्नका लागि कम्तीमा १० रुपैयाँ तिर्नु परेकाे बताउँछन्।‘भिड थेग्न नसकेर जुत्ता-चप्पल राख्ने लकर साउनभरका लागि बन्द गरिएको भनियो। बाहिर सो लकर बन्द छ। हामीले बाहिर पैसा तिरेर जुत्ता-चप्पल राख्नु पर्यो’ सोमबार बिहानै दर्शनका लागि पशुपति पुगेका एक भक्तजनले भनेका छन्।
कोषले भने जुत्ता-चप्पल राख्ने व्यवस्था यथावत रहेको दाबी गर्दै भिडभाडको बेला बाहिर मानिसहरुले पैसा लिएको हुन सक्ने बताएको छ।‘भिडभाडका बेला सबैलाई नियन्त्रण गर्न सकिँदैन। तर कोष र सुरक्षाकर्मीले प्रयास भने गरिरहेका छन्’, सदस्य सचिव थापाले बताए।
अनुगमन तथा कारवाही गरिरहेको दाबी गरेका थापाले भक्तजन पनि सजग हुने पर्ने सुझाब दिए। तर नियमित रुपमा जुत्ता-चप्पल राख्ने लकर भने बन्द गरिँदा आफूहरू मर्कामा परेको र बाध्य भएर पैसा तिर्नुको विकल्प नरहेको दर्शनार्थीले बताएका छन्।