
काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित लोकल गाइड तालिमको शुभारम्भ गरेका छन्।
नेपाल पर्यटन तथा होटल व्यस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो।
स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरूले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए।
पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भु सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरूलाई तालिममा सहभागी गराइएको छ।
यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय-आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय पथप्रदर्शक तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाको जानकारी दिइनेछ। साथै उनीहरूलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी दिइनेछ।
हनुमानढोकादेखि मरू गणेश-सन्तानेश्वर महादेव-नरदेवी घःछेँ-मेछ्य हिति-रञ्ति मल्ल सतःघाट-भेलु महादेव-निपु हिटी-भुइँखेल हुँदै स्वयम्भु पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिए।
यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौँको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताए।
सम्पदामार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतिले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक तालिम संचालन गरिएको बताए।