
काठमाडौँ– पार्टीको १४औँ महाधिवेशनपछि संस्थापन इतरसमूहको नेतृत्व गरेका कांग्रेस नेता शेखर कोइरालाले आम चुनाव नजिकिँदै गर्दा पार्टीभित्र विद्रोहको रफ्तार थप बढाएका छन्।
चुनावी सिट बाँडफाँटमा पार्टीले कति सिट प्राप्त गर्ने हो भन्ने पक्का नहुँदै त्यसको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने अडान कोइरालाले यथावत राखेका छन् भने प्रतिपक्षी दलसँगको साँठगाँठ पनि बढाएका छन्।
कोइरालाको दाबीले सभापति शेरबहादुर देउवालाई पार्टीभित्र र सत्ता गठबन्धनमा दोहोरो दबाब परेको छ।
सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न भन्दै गठन भएको कार्यदलले एक महिनादेखि छलफल गरेपनि सामान्य मोडालिटी समेत तय गर्न सकेको छैन।
यस्तो अवस्थामा शेखर समूह भने पार्टीले प्राप्त गरेको सिटमध्ये ४० प्रतिशत आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन। साथै पार्टीले एक सय सिट भन्दा कम दाबी गर्न नहुने पनि कोइरालाको माग छ।
कोइराला पार्टीभित्र दबाब दिँदै प्रतिपक्षी एमालेसँगको परामर्शमा छन्।
नेता कोइरालाको सबै माग सम्बोधन नगरेपनि उनको दबाबले सभापति देउवालाई सोच्न बाध्य भने बनाएको छ। यता एमाले अध्यक्ष निकट मानिने नेता सूर्य थापा एमाले एक्लै चुनावमा होमिएर बहुमत ल्याउने दावी गर्छन्।
यद्यपि अध्यक्ष ओलीले कांग्रेस नेता शेखर समूहसँग छलफल भइरहेको र चुनावमा तालमेल हुन सक्ने सम्भावनाहरु पनि रहेको बताए।
उनले भने–‘अध्यक्षज्यूले शेखर समूहसँग छलफल गर्नुभएको छ, यदि कोइराला समूह कांग्रेसभित्र अन्यायमा परेको खण्डमा एमालेले साथ दिनेछ। एमाले अन्यायमा पर्नेहरुलाई साथ र सहयोग दिने पक्षमा सधै उभिएको छ, उभिने छ।’
ओलीको सचिवालयका अनुसार–‘संघ र प्रदेशको मिति घोषणा भएपछि ओलीलाई भेट्न कोइराला तीन पटक बालकोट पुगेका छन्।’
तीनै भेटमा कोइराला एक्लै बालकोट गएका थिए।
भेटमा दुई नेताबीच आगामी निर्वाचनबारे छलफल भएको छ।
नेता कोइरालाले पार्टीभित्र चुनावी तालमेलमा देखिएको असन्तुष्टी पोख्दा ओलीले सत्ता गठबन्धनका कमजोर उम्मेदवार भएका प्रत्यक क्षेत्र र प्रदेशमा बागी उम्मेदार उठाउन सल्लाहा दिएका छन्।
प्रचण्ड र माधवको घाँडो नर्भिन पनि ओलीले शेखर समूहलाई सुझाव दिएका छन्।
प्रचण्ड र माधवलाई साथ दिनुभन्दा स्वतन्त्रहरुलाई साथ दिन ओलीले शेखरलाई भनेका छन्।
सचिवालय स्रोतले भन्यो–‘एमाले र कांग्रेसको शेखर कोइराला समूहबीच चुनावमा तालमेल गर्ने भन्ने नै त हुँदैन, तर अनौपचारिक तालमेल हुन सक्छ, सहमतिमा एक अर्काका उम्मेदवारलाई मतदान गरेर जिताउन सक्ने अवस्था आउन सक्छ।’
एमाले एक्लै चुनावमा जाने योजनामा छ। कांग्रेसभित्र अन्यायमा परेकाहरु लाई भने साथ दिने वचन दिएका छन्।
ओलीले शेखर कोइराला समूहसँग चुनावी तालमेल गर्ने अघोषित योजना बनाएका छन्।
पाँच दलीय सत्ता गठबन्धनले एमालेलाई ठूलो धक्का दिने योजना बनाइरहँदा ओलीले शेखर समूहसँग मिलेर अघि बढ्ने अस्त्र प्रयोग गर्न खोजेका छन्।
उनले चाल्न लागेको यो चालमा शेखर समूहको पनि आफ्नै स्वार्थ छ।
देउवालाई धम्क्याउन नेता कोइराला ओलीसँग निकट भएको हुनसक्ने आकलन छ।
एमाले नेता बिष्णु रिमालले पनि केहि दिन अघि एक टेलिभिजन कार्यक्रममा आगामी चुनावमा कांग्रेसको शेखर समूहसँग मिलेर जाने योजना रहेको बताएका थिए।
ओलीको सचिवालय स्रोतले दुई नेताबीच भएको भेटघाटका सबै छलफल सञ्चारमाध्यममार्फत सार्वजनिक हुनु भन्दा पनि चुनावी परिणामले देखाउने बतायो।
ओली र कोइरालाबीच चुनावमा कहाँ कसरी सघाउने भन्ने बिषय भने निष्कर्षमा पुग्नै बाँकी रहेको कोइराला निकट एक नेताले बताए।
ती नेताले भने–‘कोइराला ओलीसँग चुनावी रणनीति बनाउनेबारे छलफलमा हुनुहुन्छ तर सबै बिषय टुंगिसकेको छैन, पार्टीमा प्राप्त हुने सिटको आधारमा एमालेसँगको तालमेलको निर्णय हुन्छ’
शेखर समूहले गठबन्धनको भागबन्डामा कांग्रेसले एक सय सिट छाड्न नहुँने बताउँदै आएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ८० र माओवादीलाई ६० सिट आसपास सहमति हुने बताएका छन्।
यस्तै सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले हुने प्रतिवद्धता व्यक्त गरेका छन्।
सुशील कोइरालाको निधनपछि उक्त समूहको उत्तराधिकारी नेता रामचन्द्र पौडेल थिए। १४ आँँै महाधिवेशनपछि पौडेलको सान्दर्भिकता पनि सकियो।
१३ औँ महाधिवेशनमा पोडेल देउवासँग सभापति पदमा पराजित भएका थिए भने १४ औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला गुट जन्मिएको हो।
१४ औँ महाधिवेशनमा पौडेल समूहका आधिकारीक उम्मेदवार भनेर चिनिएका शेखरलाई नै पोडेलले सहयोग गरेनन्।
यो महाधिवेशनमा नेता शेखर कोइराला पराजित भएका थिए पनि देउवा पार्टी सभापतिमा दोहोरिएका थिए।
सभापति पदमा हारेपनि शेखरले राजनीतिमा भनेको जितेको ठान्नेहरु पनि छन्।
पार्टीमा देउवा संस्थापन समूहको नेता बन्दा शेखर कोइराला जवरजस्त संस्थापन इतरमा उदाएका हुन्।
देउवाले एकलौटी गर्ने डरमा शेखर समूहले देउवाका अधिकांस निर्णय र योजनामा खवरदारी गर्दै आएको छ।
सभापतिमा पराजित भएपछि अर्कोपटक पार्टी सभापति लड्ने छैन र पदको लालचा पनि छैन भनेका कांग्रेसभित्रकै प्रतिपक्षी नेता कोइराला प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको परामर्स र भेटघाटमा रहँदा कांग्रेस भित्र र राजनीतिमा केहि तरंग भने पक्कै पैदा भएको छ।
पार्टी रुपान्तरण तथा युवापुस्तालाई नेतृत्वमा पु¥याउने जस्ता उद्धेश्यले नेता कोइरालाले पार्टीभित्रकै प्रतिपक्षी दलको नेताको रुपमा विद्रोह गरका हुन्।
त्यसैको परिणमस्वरुप पार्टी पदाधिकारीमा युवाहरु पनि पुग्न सफल भए भने नेतृत्वविरुद्ध खवरदारी पनि गरीरहन्छन् बेलाबखत।
चुनावी सिट बाँडफाँटमा पार्टीभित्र खोजेजति र सम्मानजनक स्थान नपाएको गुनासो गर्दै प्रतिप्रक्षी दल गुहार्न पुगेका कोइरालालाई ओलीले उनले चाहेजस्तो स्पेस दिन्छन् त भन्ने प्रश्न उव्जाएको छ।