
विषय प्रवेश
वैदिक पशुयज्ञका र पशुबलिका विषयमा आस्तिक र नास्तिक दुवैथरी मान्छेले बोल्ने–लेख्ने गरेको देखिन्छ। बलि शब्दका विभिन्न अर्थ भए पनि सामान्यतया बलि भन्नाले देवतालाई समर्पण गर्न विधिपूर्वक मारण गरिएको पशु भन्ने बुझिन्छ। त्यसैले यस विषयमा शास्त्रमा श्रद्धा भएका र शास्त्रीय वस्तुस्थिति यथार्थ रूपमा बुझ्न चाहनेहरूका लागि सप्रमाण केही लेखिँदै छ।
वैदिक यज्ञ र बलि
वेदमा विधान गरिएका सोमयाग, निरूढपशुबन्धयाग, अश्वमेध इत्यादि यज्ञमा जो पशुहिंसा हुन्छ त्यसलाई अहिंसा नै मानिएको छ— “वैदिकी हिंसा हिंसा न भवति”।
आजभोलि पनि भारतका महाराष्ट्र, आन्ध्रप्रदेश, केरल इत्यादि क्षेत्रका ठूला वैदिक ब्राह्मणहरू पशुयाग गर्छन्। मीमांसाशास्त्रमा वैदिक यज्ञको अनुष्ठान नै मुख्य रूपमा धर्म हो भनिएको छ। नेपालका तथा मिथिला, बङ्गाल इत्यादि क्षेत्रका ब्राह्मण, क्षत्रिय आदिले नवरात्रमा दुर्गापूजा गर्दा पौराणिक विधिले पशुको बलि दिन्छन् । कोहीे तन्त्रशास्त्रका पद्धतिले पशुबलि दिन्छन्। एक क्षेत्रको शास्त्रीय परम्पराका विषयमा अन्य क्षेत्रका हिन्दुहरूलाई जानकारी नहुनाले तथा वेद–वेदाङ्ग–स्मृति–पुराणादि शास्त्रको अध्ययन गर्ने अवसर नपाउनाले कोही–कोही जथाभावी बोल्ने गरेको पनि देखिन्छ।
शास्त्रको तथा विविध स्थानका परम्पराको जानकारी सबै हिन्दुहरूले राख्नुपर्छ, विशेष गरेर ब्राह्मणलाई शास्त्रीय वचनहरूको आधिकारिक ज्ञान हुन आवश्यक छ।
बलिका विषयमा बारम्बार कुरा उठाइने गरेको छ। “काम क्रोध लोभ इत्यादि दुर्गुणको पो बलि दिने हो, पशुको पनि बलि दिने हो र ? शास्त्रमा पशुको बलि दिने कुरा कतै पनि छैन” इत्यादि भनेर कसै–कसैले पशुबलिको विरोध गरेको देखिन्छ। फेरि कोही–कोही बलिलाई “हिन्दुधर्मको विकृति” समेत भन्छन्। विद्वान् ठानिएका कतिपय व्यक्तिले समेत यस विषयमा बहकिएर अशास्त्रीय कुरा बोल्ने गरेको पनि देखिन्छ। कुनै सम्प्रदायका आधुनिक व्यक्तिले बलिको र मासु खाने कामको अत्यन्त निन्दा गरेको पनि देखिन्छ। तसर्थ बलिका विषयमा यहाँ केही विवेचना गरिन्छ।
हिन्दुधर्म भनेको वैदिक–सनातन–वर्णाश्रम–धर्मको नै लौकिक व्यावहारिक नाम हो। त्यसमा पनि वेदको र मूल वैदिक–सनातन–वर्णाश्रम–धर्मको विरोध नगर्ने र कुनै न कुनै रूपमा वेदमूलक देखिने विभिन्न पन्थ पनि लोकमा हिन्दुधर्मभित्रकै मानिन्छन्। तसर्थ हिन्दुधर्मभित्र विभिन्न प्रकारका अनुष्ठान र उपासना पर्छन्।
वैदिकहरूका शाश्वत प्रकृतिका गम्भीर तत्त्वदर्शनका आधारमा चल्ने यज्ञहरू छन्। वेदमा हविर्यज्ञ, पशुयज्ञ र सोमयज्ञहरूको विधान पाइन्छ। मन्त्रसंहिता, ब्राह्मणग्रन्थ र श्रौतसूत्रहरूको अध्ययन गरेका व्यक्तिहरूले यो कुरा बुझेकै हुन्छन्। यज्ञमा संज्ञपन गरिएको अर्थात् विधिपूर्वक प्राणवियोजन गरिएको पशु पशुयोनिबाट मुक्त भएर देवत्वमा पुग्छ भनेर शुक्लयजुर्वेदमा भनिएको छ—
न वा उ एतन् म्रियसे न रिष्यसि
देवाँ इदेषि पथिभिः सुगेभिः।
यत्राऽऽसते सुकृतो यत्र ते ययुस्
तत्र त्वा देवः सविता दधातु।।२३।१६।।
अर्थात्— हे अश्व, तिमी मर्दा पनि मर्दैनौ र नष्ट पनि हुँदैनौ। तिमी देवताहरूका श्रेष्ठ मार्गबाट देवता भएका ठाउँमा पुग्छौ। जुन लोकमा पुण्यात्माहरू गएका छन् र जुन लोकमा पुण्यकर्ता बस्छन्, त्यस लोकमा सविता देवताले तिमीलाई राखून्।
यस मन्त्रबाट यज्ञमा मारिएको पशु पशुयोनिबाट मुक्त हुन्छ भन्ने बुझिन्छ। नेपालीहरूका कुलदेवताका पूजामा पनि बलि दिने परम्परा छ। तसर्थ वेदमा बताइएको सिद्धान्तको विरुद्ध गएर मनलाग्दी तर्क गर्नुको वैदिक धर्ममा कुनै स्थान छैन। वेदकै भनाइलाई पुष्टि गर्न मनुस्मृतिमा पनि यस विषयको व्याख्या गरिएको छ—
यज्ञार्थं पशवः सृष्टाः
स्वयमेव स्वयम्भुवा।
यज्ञश्च भूत्यै सर्वस्य
तस्माद् यज्ञे वधोऽवधः।।५।३९।।
अर्थात्— स्वयम् ब्रह्माजीद्वारा नै यज्ञका लागि पशुहरूको सृष्टि गरिएको हो। यज्ञचाहिँ सम्पूर्ण जगत्को कल्याणका निम्ति हो। त्यसै कारणले यज्ञमा गरिने पशुको हिंसा अहिंसा नै हो।
ओषध्यः पशवो वृक्षास्
तिर्यञ्चः पक्षिणस्तथा।
यज्ञार्थं निधनं प्राप्ताः
प्राप्नुवन्त्युच्छि«तीः पुनः।।५।४०।।
अर्थात्— ओषधि, पशु, वृक्ष, तिर्यक् जीव र पक्षी पनि यज्ञका निम्ति मरेका खण्डमा फेरि उन्नति गर्छन् अर्थात् उत्कृष्ट योनिमा उत्पन्न हुन्छन्।
आफू मासु खानेले देवीलाई पनि पशुबलि दिनुपर्ने देखिन्छ। आफू भने खसी काटेर वा किनेर ल्याएर वा अरू कुनै प्रकारले मनपरी अवैध मासु खाने, देवतालाई शास्त्रविहित वा कुलपरम्पराले प्राप्त बलि भने नदिने वा बलि दिने कुराको विरोध नै गर्ने व्यक्ति महानास्तिक ठहर्दछ। देउपितृलाई अर्पण नगरीकन आफूले मात्र मासु खाने कार्यलाई उचित मान्ने र शास्त्रअनुसार देवतालाई बलि दिने कार्यको भने विरोध गर्ने व्यक्तिहरू पनि नास्तिक तथा अविवेकी नै हुन् भन्ने बुझ्नु पर्छ। देवीभागवतमा पनि मासु खाने व्यक्तिहरूले देवीलाई राँगो, बोको र बँदेलको बलि दिनुपर्ने कुरा र देवीका अगाडि बलि दिइएका पशु स्वर्ग जाने भएकाले बलि दिँदा हिंसाको दोष नलाग्ने बताइएको छ—
मांसाशनं ये कुर्वन्ति
तैः कार्यं पशुहिंसनम्।
महिषा–ऽज–वराहाणां
बलिदानं विशिष्यते।।
देव्यग्रे निहता यान्ति
पशवः स्वर्गमव्ययम्।
न हिंसा पशुजा तत्र
निघ्नतां तत्कृतेऽनघ।।
—देवीभागवत ३।२६।३२–३३।
वैदिकका यज्ञहरूभन्दा वैष्णवका मूर्तिपूजा–उपासनाहरू भिन्नै प्रकारका छन्। शैव–पाशुपतादिका लिङ्गपूजा, श्मशानसेवन आदि आफ्नै प्रकारका छन्। शाक्तहरूका पनि दक्षिणमार्ग, वाममार्ग इत्यादिका आआफ्नै आचरण, अनुष्ठान र उपासनाहरू छन्। तिनका आआफ्ना शास्त्र र ग्रन्थ पनि छन्। देवीका मन्दिरहरू मुख्यतया शाक्त पन्थका हुन्। त्यहाँ तिनले आफ्नै मार्गअनुसार कर्म गर्छन्। त्यसमा सामान्य अवस्थामा अरू मार्गका व्यक्तिहरूले टीकाटिप्पणी गरेर हस्तक्षेप गर्नु उचित पनि हुँदैन। हाम्रा परम्परामा त विभिन्न मार्ग स्वीकृत छन्—
त्रयी साङ्ख्यं योगः
पशुपतिमतं वैष्णवमिति,
प्रभिन्ने प्रस्थाने
परमिदमदः पथ्यमिति च।
रुचीनां वैचित्र्या–
दृजुकुटिलनानापथजुषाम्,
नृणामेको गम्यस्
त्वमसि पयसामर्णव इव।।
—शिवमहिम्नः स्तोत्रम्, श्लो.७
यस्तो भनेर सबै सम्प्रदायका व्यक्तिलाई आ–आफ्ना रुचिका सोझा वा बाङ्गा, सजिला वा अप्ठेरा मार्गबाट अर्थात् पद्धतिबाट ईश्वरको पूजा–आराधना गर्ने छुट दिइँदै आएको छ। कसैलार्ई देवीका वा भैरवका मन्दिरमा चल्ने अनुष्ठान मनपर्दैन भने ऊ विष्णुका वा शिवका मन्दिरमा वा ब्राह्मणगृहमा वा गुरुकुलमा वा तपोवनमा वा नदीतीरमा वा पर्वतशिखरमा वा अन्यत्र जान सक्छ। एक प्रकारका पन्थका अनुयायीहरूलार्ई अर्को प्रकारका पन्थको अनुष्ठान विकृतिजस्तो लाग्न पनि सक्छ। त्यत्तिकैमा एक पन्थका अनुयायीले अर्को पन्थको अनुष्ठानलार्ई विकृति भनेर परस्पर विरोध चर्काउनु उचित देखिँदैन। प्राचीन कालमा त वैष्णवहरूले नै पनि विष्णुलाई मिर्ग, बोका र खरायोको मासु चडाउने कुरा वैष्णवहरूले विशेष मान्ने वराहपुराणमै आएको छ—
मार्गमांसं वरं छागं
शाशं समनुयुज्यते।
एतानि प्रापणे दद्यान्
मम चैतत् प्रियावहम्।—११९।१२–१३।
ब्रह्मसूत्रका रामानुजादि वैष्णव भाष्यकारहरूले नै पनि वैदिक यज्ञको पशुहिंसालाई समर्थन नै गरेका छन्। आधुनिक वैष्णवहरूले यो कुरा नबुझेको देखिन्छ। देवदेवीलार्ई बलि दिने र तिनको मासु खाने कुरा पनि त्यस्तै हो। हिंसा र अहिंसाको विवेचना पनि सूक्ष्म ढङ्गले गर्न आवश्यक छ। स्थूल हिंसालार्ई मात्र हिंसा देख्ने सूक्ष्म हिंसालार्ई हिंसा नै नदेख्ने अवैज्ञानिक दृष्टि हटाउनुपर्छ। यस्ता विषयमा पढेलेखेका मान्छेले विचार गरेर विवेकपूर्ण कुरा मात्र लेख्न–बोल्न पर्छ।
सनातन धर्ममा हिंसा र अहिंसाको अवधारणा र पशुबलिको परम्परा
वैदिक सनातन परम्परामा वेदको विधानअनुरूप विभिन्न यज्ञमा पशुको सञ्ज्ञपन (मारण) गरिएजस्तै वैदिकपरम्परामा वेदको सिद्धान्तको पुष्टि गर्न बनेका श्रीमद्देवीभागवत, मार्कण्डेयपुराण जस्ता महापुराणको विधान अनुरूप देवीका निम्ति मेध्य पशुको बलि दिने गरिएको हो।
नेपालका विभिन्न समुदायमा पनि यसै परम्पराअनुरूप विभिन्न अवसरमा पशुबलि दिने प्राचीन परम्परा रहेको छ। संसारमा जतासुकै कुनै न कुनै रूपमा पशुबलिको चलन रहेको पाइन्छ।
चारै वेद ब्राह्मण वटुकहरुले वर्षौंसम्म ब्रह्मचर्याश्रममा रहेर कण्ठ पारेर नलेखीकन नै अनादिकालदेखि जस्ताको तस्तै सुरक्षित गरिएका ग्रन्थ हुन् र तिनमा कुनै कुरा पनि थपघट भएका छैनन् भन्ने पनि स्पष्ट छ।
मार्कण्डेयमहापुराण अन्तर्गतको देवीमाहात्म्यमा देवीले आफ्नो पूजामा उत्तम पशु, पुष्प, अर्घ्य, धूप, चन्दन, दीप जस्ता वस्तु चढाउने र ब्राह्मणभोजन, होम आदि गर्नुपर्ने कुरा बताउनुभएको छ—
सर्वं ममैतन् माहात्म्यं
मम सन्निधिकारकम्।
पशुपुष्पार्घ्यधूपैश्च
गन्धदीपैस्तथोत्तमैः।।
विप्राणां भोजनैर्होमैः
प्रोक्षणीयैरहर्निशम्।
अन्यैश्च विविधैर्भोगैः
प्रदानैर्वत्सरेण या।।
प्रीतिर्मे क्रियते साऽस्मिन्
सकृदुच्चरिते श्रुते।
श्रुतं हरति पापानि
तथाऽऽरोग्यं प्रयच्छति।।—दुर्गासप्तशती १२।२०–२२।
यज्ञमा चढाइएका पशुले उत्तम गति प्राप्त गर्ने कुरा वेदमा बताइएको कुरा माथि नै उल्लेख गरियोे। अरू स्मृति–पुराणमा पनि त्यस्ता पशु उत्तम गतिमा प्राप्त हुन्छन् भन्ने वर्णन गरिएको छ। लोककल्याणकारी रागद्वेषबाट मुक्त श्रद्धेय ऋषिमुनिले प्रज्ञाको प्रयोग गरी श्राद्ध, तर्पण, देवपितृको लागि यज्ञ आदिका प्रक्रिया वा विधिविधानको उपदेश गरेका हुन्। मानिसको साधारण बुद्धिले श्राद्ध, यज्ञ जस्ता कर्मको नदेखिने अदृष्ट फल पाइने वास्तविकता बुझ्न नसक्ने भएकाले नै ऋषिमुनिको ठूलो महत्त्व भएको हो र तिनको ऋण अर्थात् ऋषिऋण हामीले तिर्न पर्ने मानिएको हो।
वास्तवमा हाम्रो दैनिक जीवनमा हिंसा व्याप्त छ भनेर पनि शास्त्रहरूले विस्तृत रूपमा बुझाएका छन्। रुखबाट आफैँ झरेका पातबाहेक जेसुकै काँचै वा पकाएर खाएमा वा पानी नै खाएमा पनि हिंसाको दोष लाग्छ। गृहस्थका जीवनमा नित्य प्रयोग हुने प्राणीको हिंसा हुने वधस्थलहरू चुलो, पिन्ने जाँतो आदि, कुचो, ओखल र पानीको घैँटो हुन् भनेर मनुस्मृतिहरूले बताएका छन्—
पञ्च सूना गृहस्थस्य
चुल्ली पेषण्युपस्करः।
कण्डनी चोदकुम्भश्च
बध्यते यास्तु वाहयन्।।—३।६८।
चामलको वा अरू कुनै अन्नको प्रत्येक गेडामा पुनः उम्रन सक्ने एउटा जीव छ, सागपात सबै जीव नै हुन्। तिनको चेतनाको स्तर मात्रै फरक हो। चेतनाको स्तर पशुमा पनि समान छैैन। अतः आफ्नो अधिकार अनुसार नित्य पञ्चमहायज्ञ गरेर यो हिंसाको पापबाट र ऋषिऋण, देवऋण र पितृऋणबाट पनि मुक्त हुनुपर्छ भनेर हाम्रा शास्त्रले बताएका छन्। अतः पञ्चमहायज्ञ नगरी कुनै पनि अन्न खानाले पनि पाप लाग्छ। नित्य सदाचारको पालन नगर्नाले पनि पापभागी हुनुपर्छ। महाभारतमा आएको धर्मव्याध (धार्मिक व्याधा वा सिकारी) को कथाले र वराहपुराणको धर्मव्याधको कथाले पनि यो कुरो स्पष्ट पार्दै देवपितृलाइ नचढाई अन्न खाँदा प्रत्येक अन्नका गेडामा रहेका जीवको हिंसाको पाप लाग्ने र चढाएर मांसभक्षण गर्नेलाई चाहिँ पाप नलाग्ने, पुण्य प्राप्त हुने कुरा साधारण मानिसले बुझ्ने गरी बताएका छन्। वि.सं. ५२० ज्येष्ठशुक्लप्रतिपदा (शक संवत् ३८६) मा लिच्छविकालमा स्थापित शिलालेखमा पनि—
“ईजे सत्पशुभिः सुराननुगुणैः सम्पन्नमन्त्रद्र्धिभिः। यज्ञैः कर्मविशुद्धदेहहृदयश्चन्द्रद्युतिः पार्थिवः।।” भनेर धेरैउत्तम पशुहरूको यज्ञमा प्रयोग गरिएको कुरा उल्लिखित छ। सनातन संस्कृतिको केन्द्र काठमाडौँ उपत्यकाका देवब्राह्मणहरूमा श्राद्धमा मासुको प्रयोग गर्ने अनादि वैदिक परम्परा अहिले पनि चलिरहेकै छ। उपत्यकाको वैदिक र तान्त्रिक मिश्रित नेवारी संस्कृतिमा पशुबलिको पनि लामो परम्परा रहिआएको छ।
यो कुरा बुझ्न नपाएका र शास्त्रको ज्ञान नभएका, अनि आफ्ना पिता–पुर्खा ऋषि–मुनिबाट आएको अनादि शास्त्रमा श्रद्धा नभएका, ऋषिमुनिको ज्ञानको महत्व बुझ्न पनि नपाएका र नास्तिक भै प्रायोजित किसिमले हाम्रा सामाजिक तथा धार्मिक परम्परालाई निकृष्ट घोषित गर्न चाहनेहरूबाट सावधान भै विधिपूर्वक शास्त्रीय आचरण गरेर धर्मकर्म गर्नाले नै यस लोकमा र परलोकमा पनि कल्याण हुन्छ भन्ने कुरा बुझ्ने र बुझाउने गर्नु आवश्यक छ। आदरणीय पुर्खालाई र श्रद्धेय ऋषिमुनिलाई नै अज्ञानी वा मूर्ख भनेर गाली गर्न पनि सङ्कोच नमान्ने व्यक्तिसित शास्त्रीय छलफल गर्नुको कुनै औचित्य हुँदैन।
बाजे–बराजुका पालादेखि विभिन्न सम्प्रदाय मान्दै आएका मानिसहरूले आआफ्ना सम्प्रदायअनुसारका साधना गर्नु छुट्टै कुरा हो। तर मूल सनातन वैदिक परम्पराका शाास्त्रविहित परम्पराप्राप्त कुराको र कुनै अर्काे सम्प्रदायका विधिविधान तथा परम्पराको आलोचना गर्नु अत्यन्त अधार्मिक र निन्दनीय कार्य हो।
शास्त्रीय प्रमाण
शास्त्रमा ऋग्वेददेखि श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र, जैमिनीयधर्ममीमांसासूत्र, ब्रह्ममीमांसासूत्र, स्मृति, पुराण, रामायण, महाभारत,काव्य–साहित्य इत्यादिसम्ममा जतासुकै पशुयज्ञको, पशुबलिको र मांसभक्षणको उल्लेख पाइन्छ। कतिपय वचनको व्याख्या माथि नै पनि गरिसकिएको छ। थप केही वचनहरू हेरौँ—
प्रजापतिका पुत्रहरूले मोटो भेडालाई पकाए भन्ने उल्लेख ऋग्वेदमा गरिएको छ—
पीवानं मेषमपचन्त वीराः। —ऋग्वेद १०।२७।१७
अथर्ववेदमा प्रेतका पितृका) तृप्तिका निम्ति मांस पनि दिन्छु भनिएको छ—
यं ते मन्थं यमोदनं
यन् मांसं निपृणामि ते।
तेते सन्तु स्वधावन्तो
मधुमन्तो घृतश्चुतः।। —१८।४।४२
कात्यायनश्रौतसूत्रमा वैदिक यज्ञमा बोका, भेडा इत्यादि पशुको प्रयोग हुने कुरा बताइएको छ—
छागोस्रमेषाः पश्वभिधानाद् यथालिङ्गम्।—२०।७।१९
यज्ञमा ऋत्विक्लाई र विवाहमा वरलाई मधुपर्कले स्वागत गर्दा मांस नभईकन हुँदैन भन्ने शास्त्रवचनहरू छन्—
न अमांसो मधुपर्को भवति। —ऋग्वेदको आश्वलायन–गृह्यसूत्र १।२४।२६
न अमांसः अर्घः भवति अधियज्ञमधिविवाहम्। —ऋग्वेदको कौषीतकि–गृह्यसूत्र २।१५
न अमांसो मधुपर्क इति श्रुतिः। —कृष्णयजुर्वेदको मानवमैत्रायणीय–गृह्यसूत्र १।९।२२
न तु एव अमांसः अर्घः स्याद् अधियज्ञमधिविवाहम्, कुरुत इत्येव ब्रूयात्।
—शुक्लयजुर्वेदको पारस्कर–गृह्यसूत्र १।३।२९–३०।
न अलोहितो मधुपर्को भवति। —अथर्ववेदको कौशिक–गृह्यसूत्र ९२।१६
श्राद्धमा वा देवकर्ममा नियुक्त भएको सन्न्यासीले समेत पितृप्रसाद वा देवप्रसादका रूपमा मांस खानैपर्छ, नखाए नरक परिन्छ भन्ने वसिष्ठधर्मसूत्रको वचन छ—
नियुक्तस् तु यतिः श्राद्धे
दैवे वा मांसमुत्सृजेत्।
यावन्ति पशुरोमाणि
तावन् नरकमृच्छति।। —११।३४
पाणिनीयव्याकरणका भाष्यमा पस्पशाह्निकमा “घरपालुवा कुखुरो र सुँगुर खान हुँदैन भन्ने निषेधले वनको कुखुरो र बँदेलचाहिँ खान हुन्छ भन्ने बुझिन्छ” भनेर बताइएको छ—
अभक्ष्यो ग्राम्यकुक्कुटः अभक्ष्यो ग्राम्यशूकरः, गम्यत एतदारण्यो भक्ष्य इति।
वैदिक यज्ञमा पशुको प्राणवियोजन गर्ने शमिता छुट्टै होइन अध्वर्युगणको ऋत्विक् नै होभन्ने कुरा जैमिनीयधर्ममीमांसासूत्रमा बताइएको छ—
शमिता च शब्दभेदात्। प्रकरणाद् वोत्पत्त्यसंयोगात्। —३।७।२८–२९
वैदिक यज्ञमा हिंसा हुने भएकाले त्यसबाट अशुद्धि हुन्छ कि भन्ने शङ्का होला भनेर त्यस्तो होइन भन्ने आशय बादरायणीय ब्रह्ममीमांसासूत्रमा व्यक्त भएको छ—
अशुद्धमिति चेन्न शब्दात्।—३।१।२५
गरुडमहापुराणमा विभिन्न पशु–पक्षीका र माछाका मासुले पितृहरू धेरै कालसम्म तृप्त हुन्छन् भनिएको छ—
हविष्यान्नेन वै मासं
पायसेन तु वत्सरम्।
मात्स्य–हारिण–कौरभ्र–
शाकुन–च्छाग–पार्षतैः।।
ऐण–रौरव–वाराह–
शाशमांसैर् यथाक्रमम्।
मासवृद्ध्यापि तुष्यन्ति
दत्तैरिह पितामहाः।। —१।९९।३७–३८
वाल्मीकिरामायणमा पनि पाँचओटा नङ हुने कछुवा, खरायो, सालक इत्यादि पाँच पशु भक्ष्य खान हुने) भनेर गनिएका छन्—
पञ्च पञ्चनखा भक्ष्या
ब्रह्म–क्षत्रेण राघव।
शल्यकः श्वाविधो गोधा
शशः कूर्मश्च पञ्चमः।।—४।१७।३७
महाभारतका अनुशासनपर्वमा वेदको विधि अनुसरण गरेर मांसभक्षण गर्दा दोषी भइँदैन भनिएको छ—
विधिना वेददृष्टेन
तद् भुक्त्वेह न दुष्यति।
यज्ञार्थे पशवः सृष्टा
इत्यपि श्रूयते श्रुतिः।। —११६।१४
वैदिक कर्मकाण्डका संरक्षणमा अतुलनीय योगदान दिएका मीमांसक–शिरोमणि कुमारिलभट्टले जैमिनीय–धर्ममीमांसा–शास्त्रको व्याख्या गर्दा “यज्ञका पशुहिंसाबाट ब्राह्मणहरू सन्तुष्ट हुन्छन् भने बौद्धहरूचाहिँ क्रुद्ध हुन्छन्” भनेका छन्—
पशुहिंसादिसम्बन्धे यज्ञे
तुष्यन्ति हि द्विजाः।
तेभ्य एव हि यज्ञेभ्यः
शाक्याः क्रुध्यन्ति पीडिताः।।—तन्त्रवार्तिक१।३।७
श्रीमद्विष्णु–भागवतमा “एउटा जीवको जीवन अर्को जीव नै हुन्छ, त्यसैले एउटा जीव अर्को जीवलाई नखाईकन बाँच्न सक्तैन” भनिएको छ—
अहस्तानि सहस्ताना–
मपदानि चतुष्पदाम्।
फल्गूनि तत्र महतां
जीवो जीवस्य जीवनम्।। —१।१३।४६
श्रोत्रिय ब्राह्मणको हृदय यज्ञका वेलामा पशुमारणजस्तो दारुण कर्म गर्दा पनि अनुकम्पाले भरिएको हुन्छ भनेर महाकविकालिदासद्वारा रचित विश्वप्रसिद्ध अभिज्ञानशाकुन्तल नाटकमा भनिएको छ—
सहजं किल यद् विनिन्दितं
न खलु तत् कर्म विवर्जनीयम्।
पशुमारणकर्मदारुणः
अनुकम्पामृदुरेवश्रोत्रियः।।—६ अङ्क, १ श्लोक।
उपसंहार
वैदिक शास्त्रका यस्ता सयौँ ग्रन्थका हजारौँ वचनमा पशुयज्ञको, पशुबलिको र मांसभक्षणको उल्लेख पाइन्छ। सुदीर्घ परम्पराले पनि यही कुरा स्पष्ट पारेको छ। तसर्थ यस विषयमा सबै हिन्दुले स्पष्ट ज्ञान गर्न र परस्पर समन्वय गर्न आवश्यक देखिन्छ। हिन्दुहरूले सबैथरी शास्त्रीय परम्पराको आदर गरेर आफूहरूका बीचमा विदेशी–विधर्मीलाई घुसपैठ गर्न नदिनु नै बुद्धिमानी हुन्छ।