
चितवन -चितवनमा डेङ्गीको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन् ।
डेङ्गी संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।
स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीको संक्रमणका कारण मृत्यु भएको थियो ।
चितवनमा बुधबारसम्म ७४३ जनामा डेङ्गी सक्रमण पुष्टि भएको छ । तीमध्ये ४५९ चितवनका हुन् । बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन् ।
चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी संक्रमण पुष्टि भएको केसीले बताएका छन् ।