अहिले पनि भनिन्छ, नेपाली खेलकुदमा योगदान र खेल विकासको हिसावले तत्कालिन सदस्यसचिव सरद चन्द्र शाहको कार्यकाल स्वर्णिम थियो। उनले नेपाली खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय सहभागिताको आधार तयार गर्न सर्वाधिक ठुलो योगदान दिएको मानिन्छ। तत्कालिन समयमा शाहको सम्बन्धकै कारण अधिकांश खेलाडीले वैदेशिक अभ्यासको मौका निरन्तर प्राप्त गर्थे।
४१ वर्षे इतिहासमा शाहले सोचेर तयार पारेको राष्ट्रिय खेलकुदको कन्सेप्टले निरन्तरता त पाएको छ। तर यो अवधिमा २० औँ संस्करण चल्नुपर्ने हो तर हामी नवौँमा छौँ। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रको अनिच्छाका कारण प्रतियोगिताहरू नियमित भएन। जसले गर्दा राष्ट्रिय खेलकुदकाे महाकुम्भमा अहिले पहिला जस्तो उत्साह छैन। हरेक दुई वर्षमा आयोजना गर्ने उदेश्यसहित सुरुवात गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताले सुरुवाती तीन संस्करणमा नियमितता पाएको भएपनि त्यसयता भने अस्थिरताको सिकार भएको छ।
पहिलो राष्ट्रिय खेलकुदमा टेबलटेनिसमा प्रतिस्पर्धा गरेका धर्ममान बज्राचार्य त्यो बेलाको प्रतियोगिता सम्झेर अहिलेपनि उत्साही हुन्छन्। ‘त्यो बेला फरक माहोल थियो, पहिलो राष्ट्रिय खेलकुद भएपनि पैसाको कमी थिएन।
खेलाडीहरूलाई पर्याप्त सुविधासहित अभ्यासर र खेल प्रतियोगिताका लागि तयार गरिन्थ्यो।’ बज्रचार्य त्यो समयमा राज्यले खेल क्षेत्रलाई फरक किसिमले हेर्ने गरेको बताउँछन्। ‘तत्कालिन सदस्यसचिव साहको भिजनका अगाडि कोही बोल्ने कुरो हुँदैनथियो। अनि राजाहरूले त्यसमा सहयोग गरेपछि स्वत: खेल क्षेत्र उस्किने भइहाल्यो।’ उनले तत्कालिन समयमा सबै खेलहरू ब्यवस्थित तरिकाले सम्पन्न भएको बताए।
ब्याडमिन्टनमा प्रतिस्पर्धा गरेका रामजीबहादुर श्रेष्ठले किशोर अवस्थामानै पहिलो राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेको बताउँछन्। ‘मैले राष्ट्रिय खेलकुदको पहिलो संस्करणमा सहभागिता जनाउँदा किशोर अवस्थामानै खेलेको थिए। जतिबेला तीन इभेन्टमा सहाभगिता जनाउन पाइन्थो।’ काठमाडौँमा भएको प्रतियोगितामा त्यो समयमा अन्य ठाउँबाट आउने खेलाडीलाई पनि भत्तासहित काठमाडौँमा बस्ने ब्यवस्था गरिएको श्रेष्ठले बताए। ‘त्यो समयमा बाहिरबाट आउने खेलाडीका लागि विशेष ब्यवस्था हुन्थ्यो। बृहत राष्ट्रिय खेलकुद भएकाले हजारौँ खेलाडी र खेलकर्मीहरूको एउटै मञ्च हुँदा स्वभाविक उत्साह थियो।’ श्रेष्ठले त्यो प्रतियोगिताले खेलाडी र खेल क्षेत्रमा लाग्नका लागि उत्साह र आधार तयार गरेको बताए। ‘उक्त प्रतियोगितापछि खेलक्षेत्रमा एउटा आधार तयार भयो।’
पहिलो राष्ट्रिय खेलकुदमा कुल १६ खेल (एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, भलिबल, बाघचाल, चेस, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, आर्चरी, भारोतोलन, ह्याण्डबल, बक्सिङ्ग, शारिरीक सुगठन र पौडी) रहेको थियो। जहाँ १४४३ खेलाडीले २२७ पदकका लागि प्रतिस्पर्धा गरेका थिए। तत्कालिन समयमा १४ अञ्चलका आधारमा प्रतिस्पर्धा हुने गरेको थियो। जहाँ बागमतिले एकछत्र उपस्थिति देखाएको थियो। ४४ स्वर्ण सहित बागमति पहिलो स्थानमा रहँदा गण्डकीले ८ स्वर्ण जितेको थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































