काठमाडौँ – मनसुन बाहिरिनुपर्ने सरदर समयमा थप सक्रिय हुने देखिएसँगै भित्र्याउने बेला भएको धानबाली भएका किसानलाई सतर्क रहन मौसमविद् तथा धानबाली विज्ञले आग्रह गरेका छन्।
औसतमा अक्टोबर २ अर्थात् (आइतबार, असोज १६ गते) नेपालबाट मनसुन बाहिरिनुपर्ने थियो । तर जल तथा मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दसैँका लागि निकालेको विशेष मौसमी बुलेटिनमा दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो ।
‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ’, बुलेटिनमा भनिएको छ, ‘हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी (मंगलबार) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।’
दसैँका बेला केही स्थानमा ठूलो पानी पर्ने भएपछि चाडपर्व हुने हुने चिन्ता एकातिर छ भने त्योभन्दा ठूलो चिन्ता काट्न ठिक्क परेको वा कतिपय स्थानमा काटाइ गरिसकिएका अगौटे (छिटो पाक्ने) धान भएका किसानलाई छ ।
धानबाली विज्ञले किसानलाई मौसम पूर्वानुमानलाई ख्याल गरेर बाली पाकेको भए पनि तत्काल धान नकाट्न सुझाव दिएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धानबाली विज्ञ डा. सुशील सुवेदीले भने, ‘बाली पाकेको छ तर कटान गर्नु भएको छैन भने काट्ने सोच्दै नसोच्नुहोला । कटान गरिसकेको धान पनि खेतमै नछोडेर उचाइ ठाउँमा राख्ने वा झाँट्ने गर्नुहोला । परालसहित सुकाउन भन्दा बाली सुकाउन सजिलो हुन्छ ।’
पाक्ने बेला पर्ने भारी वर्षाले बालीमा क्षति गर्न सक्ने उनले बताए । ‘अगौटे धान पाकेर काट्ने बेला भएको छ । पानी बढी पर्दा बाली ढल्ने वा खेतमा पानी जम्दा समस्या हुन सक्छ’, डा. सुवेदीले भने, ‘त्यसका लागि खेतको छेउ–छेउमा कुलो खनेर पानी जम्न नदिने व्यवस्था किसानले गर्न सक्नु हुन्छ ।’
मौसम पूर्वानुमान अनुसार धान उत्पादन हुने प्रदेश १, मधेश प्रदेश, बागमति र गण्डकी प्रदेशमा मंगलबार तथा सुदूरपश्चिमसहितका क्षेत्रमा असोज १९ र २० गते बढी पानी पर्ने देखिएको छ। ती क्षेत्रका किसानलाई आफ्नो धान बाली जोगाउन खेतमा सकेसम्म पानी नजम्ने व्यवस्था मिलाउन डा. सुवेदीले सुझाव दिएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका, कालीगौडी गाउँको धान खेत । तस्बिर : मदन चुनारा
उनका अनुसार दाना लागिसकेको तर नपाकेको धानमा खासै असर पर्दैन । ‘तर बाली ढल्न दिनु हुँदैन, ढले पनि उठाउनुपर्छ’, डा. सुवेदीले भने। तर, ढिलो पाक्ने अर्थात् अहिले फूल लाग्दै गरेका धान बालीमा भने भारी वर्षाले असर गर्न सक्छ। ‘धानको फूल फुलेर परागसेचन हुने समयमा पानी भारी वर्षा भयो भने दाना पोटिलो नलाग्ने वा बालामा भुस बढी हुने समस्या देखिन सक्छ’, डा. सुवेदीले भने ।
धानको फूल फुलेर परागसेचन हुने समय बिहान ९ देखि मध्याहन्न १२ बजेसम्मको हो । सो अवधिमा भारी वर्षा भयो भने नोक्सानी हुने तर सामान्य वर्षाले केही नहुने विज्ञले बताएका छन् ।
पोहोर दसैँको अवधिमा भारी वर्षा हुँदा विशेष गरी पश्चिम नेपालमा भित्र्याउने बेला भएको धानी बालीमा ठूलो क्षति भएको थियो । मनसुन सकिए लगत्तै पोहोर भारी वर्षा भएको थियो, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाले पनि त्यसको सूचना किसानसम्म नपुग्दा टार्न सकिने क्षति पनि नटरेको भन्दै आलोचना हुँदै आएको थियो । पोहोरको तुलनामा अहिलेको अवस्था फरक छ, दसैँ चाँडो परेको छ भने मनसुन ढिलो गरी बाहिरिने भएको छ ।
सन् २०२१ यता मनसुन नेपालबाट बाहिरिने समय सरदरमा अक्टोबर २ कायम गरिएको छ । त्यसअघिसम्म सेप्टेम्बर २३ लाई मनसुन नेपालबाट बाहिरने सरदर समय मानिँदै आएको थियो । सन् १९९१ देखि २०२० सम्म अर्थात् ३० वर्षको तथ्यांक विश्लेषण गरेर नयाँ सरदर मिति कायम भएको मौसमविदले प्रतिभा मानन्धरले जानकारी दिइन् ।
यो वर्ष मनसुन औसतभन्दा एक हप्ता चाँडो अर्थात् जुन ५ मा मनसुन भित्रिएको थियो । ‘मनसुन अवधिमा बीचमा लामो समय पानी परेको थिएन, अहिले बाहिरिने बेला हुँदा भारी वर्षा हुने देखिएको छ’, मौसमविदले बिनु महर्जनले बताइन् ।

                                                                                                                    
                                            
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































