
झापा – नेकपा एमालेले झापाका सबै पाँचवटै संघीय र १० जना प्रदेश सांसदका उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र राखेको छ ।
उम्मेदवारहरुको अन्तिम सूची शुक्रबार नै सम्बन्धित जिल्लामा पठाइने एमालेले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू, २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नी खरेलको उम्मेदवारी रहने एमालेले जनाएको छ ।
क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । यस क्षेत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेदवारी रहने छ ।
क्षेत्र नं १ मा पार्टी केन्द्रले स्थायी कमिटी सदस्य खरेललाई अघि सार्ने निणर्य गरेको हो । क्षेत्र नं २ बाट सिफारिसमा परेका पूर्वमन्त्री समेत रहेका खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिनसक्ने उम्मेदवारका रुपमा क्षेत्र नं १ बाट उम्मेदवार बनाइएको बताइएको छ ।
प्रदेशतर्फ क्षेत्र नं ५ का दुई क्षेत्रका क मा हिक्मत कार्की र ख मा होमबहादुर थापा उम्मेदवार रहने भएका छन् । क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाल र ख राप्रपाले उम्मेदवारी पाउने भएको छ ।
क्षेत्र नं ३ ख मा केन्द्रीय सदस्य हरी राजवंशी र क मा प्रदेश सदस्य एवं निवर्तमान प्रदेश सांसद बसन्त बानियाँ उम्मेदवार बन्ने भएका छन् ।
क्षेत्र नं २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एवं निवर्तमान सांसद एकराज कार्की दोहोरिने भएका छन् ।
क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेदवार बनाउने एमालेको तयारी छ ।
क्षेत्र नं १ मा केन्द्रीय सदस्य कोइराला प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए । अहिले पार्टीले प्रदेशमा उम्मेदवार बनाउन लाग्दा उनले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् ।
उनले देशसञ्चारसंग भने, ‘म प्रदेशमा उठ्दिन । अहिलेलाई मैले यति भने ।’