
वीरगञ्ज- आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि पर्साको क्षेत्र नम्बर ४ मा दुई गठबन्धनबीच कडा टक्कर हुने भएको छ।
सतारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)काे गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने भएको हो।
सतारूढ गठबन्धनको तर्फबाट कांग्रेसका रमेश रिजाल उम्मेदवार छन्। उनको विरुद्धमा एमाले-जसपा गठबन्धनका उम्मेदवार जालिम मियाँ रहेका छन्। यस क्षेत्रमा यिनै दुई प्रतिस्पर्धीबीचमा नै चुनावी भिडन्त हुने पक्का छ।
रिजाल कांग्रेसका पुराना नेता हुनुका साथै पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। उनी यसपाली सो क्षेत्रबाट लगातार दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएका छन्।
०७४ सालमा भएको निर्वाचनमा पनि उनी उम्मेदवार भए पनि तत्कालीन संघीय समाजवादी पार्टी र राजपा गठबन्धनका उम्मेदवार राजपाका लक्ष्मणलाल कर्णसँग उनी पराजित भएका थिए।
कर्ण २० हजार ७३८ मतका साथ विजयी हुँदा दोस्रो स्थानमा रहेका रिजालले १४ हजार ७०२ मत ल्याएका थिए। रिजाललाई यसपाली कर्णको चिन्ता भने छैन। किनभने कर्ण पर्साकै क्षेत्र नम्बर १ बाट सतारूढ गठबन्धनका उम्मेदवार छन्।
सतारूढ गठबन्धनमा रहेका रिजाल आबद्ध दल कांग्रेससहित, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)को पनि मत उनले पाउने भएपछि ०७४ सालको भन्दा बलिया उम्मेदवारको रूपमा यस क्षेत्रमा उनी देखिएका छन्।
अर्कोतर्फ उनीविरुद्ध एमाले-जसपा गठबन्धनबाट उम्मेदवार रहेका जालिम मियाँ भने नवप्रवेशी एमाले हुन्। उनी एक वर्ष पहिलेमात्रै माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। सोही बेलादेखि नै एमालेबाट मियाँले सांसदको टिकट पाउने चर्चा चल्दै आएको थियो।
राजनीतिको सुरुवाती दिनहरूमा कांग्रेसमै आबद्ध रहेका मियाँ पछिल्लो समय माओवादी केन्द्र हुँदै अहिले एमालेमा छन्। देश संघीयतामा गएपछि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचन उनी माओवादी केन्द्रबाट पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
गाउँपालिका अध्यक्षको रूपमा काम गरिसकेका मियाँ भने पहिलो पटक प्रतिनिधी सभा निर्वाचनमा भिड्न लागेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका रिजाल भने पुराना कांग्रेसी नेताहरूमध्ये पर्छन्।
नेपालमा कोभिड महामारी सुरु भएको बेला जालिम मियाँले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरूलाई आश्रय दिएको र भारतमा घुसपैठ गराउन खोजेको आरोप लागेको थियो। क्षेत्र नम्बर ४ मा अहिले रिजाल र मियाँले दैनिक रूपमा जनताको घर घरमा गई मत बटुल्ने कार्य गरिरहेका छन्।