वीरगञ्ज – मधेस प्रदेशमा जनमत पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ। हालसम्म गणना गरिएको समानुपातिक मत परिणामअनुसार जनमत पार्टी ३ लाख २९ हजार १७७ मतका साथ तेस्रो स्थानमा छ।
२० लाख ८६ हजार २९८ मतगणना हुँदा नेपाली कांग्रेस ४ लाख १४४ मतका साथ पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख ५१ हजार ७६८ मत प्राप्त गरेको छ।
तेस्रो स्थानमा रहेको जनमत पार्टीले मधेसवादी दल जनता समाजवादी पार्टी र नेकपा माओवादीभन्दा बढी मत पाएको छ। २ लाख ९८ हजार ७७४ मत ल्याउँदै जसपा चौथो स्थानमा रहेको छ भने माओवादी केन्द्र १ लाख ८० हजार ८६० मत प्राप्त गर्दै पाँचौं स्थानमा छ।
छैटौँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख १३ हजार ९१७ मत, सातौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १३ हजार ९१५ मत ल्याएको छ।
त्यस्तै, राप्रपाले ६५ हजार ५४ मत, नेपाल संघीय समाजवादी पार्टीले ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ७०५ मत प्राप्त गरेको छ।
पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीले मधेस प्रदेशमा रहेका ६४ प्रदेश सभा सिटमध्ये ६ मा जित निकाल्न सफल भएको छ।प्रत्यक्षतर्फ जनमत पार्टी ६ वटा सिटका साथ पाँचौ स्थानको दल बनेको छ। प्रत्यक्षतर्फ १५ सिट जित्दै एमाले पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३, तेस्रो स्थानमा रहेको जसपाले ९, चौथौ स्थानमा रहेको लोसपाले ७ सिटमा जित निकालेका छन्।
प्रदेश सरकार गठनमा जनमत पार्टीको मुख्य भूमिका रहने बताइएको छ। प्रदेश सरकार गठनका लागि गठबन्धनका प्रमुख दलहरुले जनमत पार्टीसँग पछिल्लो समय लागातार छलफल गर्दै आएका छन्। जनमत पार्टीले पनि सरकारमा जाने सहमति जनाइसकेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































