
वीरगञ्ज – जनमत पार्टीले मधेस प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्ने ७ जनाको नाम टुंगो लगाएको छ।
बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मधेस प्रदेशबाट समानुपातिकतर्फका सात जना प्रदेश सांसदको टुंगो लगाएको हो।
मधेशीतर्फबाट बबिता राउत, अनिता कुमारी साह, मधेसीबाटै चन्दन कुमार सिंह, वसन्त कुमार कुशवाहा, दलितबाट रञ्जु कुमारी खंग खत्वे, आदिवासी जनजातीबाट भाग्यश्री कुमारी चौधरी र मुस्लिम कोटाबाट हसिना खातुनको नाम टुंगो लगाएको पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले जानकारी दिए।
पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ स्थानमा जित हासिल गरेको छ। समानुपातिक सिट संख्या मिलाउँदा पार्टीको सांसद संख्या १३ पुगेको छ।
जनमत पार्टी मधेसमा ३ लाख २९ हजार १७७ मत ल्याउँदै तेस्रो स्थानमा रहेको थियो। प्रदेश सरकार गठनमा जनमत पार्टींको भूमिका निर्णायक हुने बताइएको छ।