
वीरगञ्ज – सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यही हो। पर्सामा रहेको एक विद्यालयमा आलोपालो गरेर विद्यार्थीलाई शिक्षकले पढाउँदै आएका छन्।
विद्यार्थीलाई आलोपालो गरी पढाइने विद्यालय जिल्लाको धोबिनी गाउँपालिका–१ भिखमपुर टोलमा अवस्थित छ।
भिखमपुर टोलमा रहेको श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा शिक्षक र कक्षाकोठाको कमीका कारण विद्यालयमा अध्ययनरत रहेको विद्यार्थीलाई जोर बिजोर रोल नम्बरअनुसार आलोपालो गरेर शिक्षकले अध्यापन गराउँदै आएका छन्।
कक्षा १२ सम्म रहेको यस विद्यालयमा १६ सय जना विद्यार्थी अध्ययनरत छन्। तर, विद्यालयमा शिक्षकको चरम अभाव र कक्षाकोठाको कमीका कारण विद्यार्थीलाई आलोपालो गरी पढाउने गरिएको त्यहाँ अध्ययनरत विद्यार्थी र शिक्षकले बताएका छन्।
विद्यालयमा कक्षा ७, ८ र ९ का विद्यार्थी एक दिन विद्यालय जाने गरेका छन् भने अर्को दिन घरमै बस्ने गर्छन्। शिक्षक र कक्षाकोठा अभावका कारण जोर रोल नम्बर भएका विद्यार्थी जोर दिन र बिजोर रोल नम्बर भएका विद्यार्थी बिजोर दिन विद्यालय जाने गरेको विद्यार्थी आकाश यादवले जानकारी दिए।
कक्षा ७, ८ र ९ मा गरी विद्यालयमा करिब ६ सय जना विद्यार्थी छन्। तर, शिक्षक नहुँदा यी तीनवटा कक्षामा अध्ययनरत विद्यार्थी एक दिन बिराएर पढ्न जानुपर्ने बाध्यता छ।
विद्यालयमा विज्ञान, स्वास्थ्य, अर्थशास्त्रलगायत विषय शिक्षक कमी रहेको यादवले बताए। १६ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयको कक्षाकोठा र शिक्षक कमीका कारण एकैपटक सबै विद्यार्थीलाई पढाउन नसकिने अवस्था रहेको प्रधानाध्यापक विनय पटेलले जानकारी दिए।
धोबिनी गाउँपालिका–१ मा पर्ने उक्त विद्यालयमा धोबिनीभन्दा पनि बढी जगरनाथपुर गाउँपालिकाका विद्यार्थी अध्ययनरत रहेको प्रअ पटेलले बताए।
विद्यालय भवन जगरनाथपुर गाउँपालिकामा पर्छ तर नामले भने धोबिनीमा पर्ने गरेको उनले बताए। कागजी रुपमा धोबिनी गाउँपालिकामा पर्ने सो विद्यालय नक्साअनुसार भौतिक रुपमा भने जगरनाथपुर गाउँपालिकामा पर्ने धोबिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले जानकारी दिए।
दुई वटा पालिकाका विद्यार्थीको चापका कारण पनि विद्यार्थी संख्या बढी भएको भन्दै त्रिपाठीले विद्यालयमा आलोपालो पढाइ हुने समस्या समाधान गर्न चार वटा कक्षा कोठा नयाँ बनिसकेको र अझै कक्षा कोठा बनाउने योजना रहेको बताए।
उनले करारमा शिक्षक नियुक्ति प्रक्रिया पूरा गरिसकेको पनि बताए। स्थानीय तहका जनप्रतिनिधिको खिचातानीका कारण पालिकाको विद्यालयको यस्तो अवस्था भएको उनको भनाइ छ। शिक्षालाई स्थानीय तहमा राखिए पनि जनप्रतिनिधिले त्यसको महत्व नबुझ्दा शिक्षा क्षेत्रमा पनि भागबण्डाको राजनीति हाबी भएको त्रिपाठीको भनाइ छ।