
काठमाडौँ- साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ)को तयारीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।
घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ।
हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ।
घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ। आइपिओ निष्कासनकाे योजनासहित पब्लिक लिमिटेडमा रूपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो।