
पोखरा – ‘शब्दशक्ति उत्सवको एक दशक’ नाराका साथ पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सुरु भइसकेको छ। फेस्टिभलको उद्घाटन पश्चात विहीबार अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचनमा सुनिए । उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिए।
शब्दलाई शक्तिमा बदलेर विद्वत्प्रवचनमा हाजिर वाग्लेले नेताहरुको त्यागमाथि आशंका उब्जाए। ‘राजनीतिलाई जनमुखी बनाउने अह्म मुद्धाहरु त्याग, चरित्र, पात्रता, इमानदारी, योग्यता, भविष्य दृष्टि सबै किनारातर्फ धकेलिएका छन्। यी शब्दले अर्थ नै कतै हराएका हुन् कि जस्तो छ’, उनले भने, ‘अहिलेका निर्णायक दलका उपल्लो तहका नेताहरुले जिवनका सुख सुविधाहरु मुलुकका रुपान्तरणका लागि त्याग गरेको ठानिएको थियो । तर, वास्तविक अर्थमा त्यो त्याग थिएन । बरु अहिलेको राजषी जिवनका लागि लगानी थियो कि भन्ने उनीहरुको व्यवहारले देखाउँदै छ।’
दर्शन, आदर्श र विचार गौण रहेको उनले सुनाए। दलबीच अपेक्षित वैचारिक प्रतिस्पर्धालाई सत्तामोह, लालच, आत्माकेन्द्रित स्वार्थी व्यवहारको अनपेक्षित प्रतिस्पर्धाले निस्प्रिय सावित गरेको उनले बताए। नेपालले विगत ७० वर्षमा कम्तीमा आधा दर्जन फरक मोडेलका शासकीय प्रणालीहरूको परीक्षण गरिसकेको उनले सुनाए।
‘मुलुकले ठूलो अवसर मूल्य चुकाएपछि संघीय गणतन्त्रात्मक लोकतन्त्र स्थापित भएको हो । अभ्यासको सात वर्षमै यो प्रणाली पनि असफलता उन्मुख भएको तर्क गर्न थालिएको छ । मुलुकको उन्नतिका लागि वास्तवमा प्रणाली एउटा साधन मात्र हो।
मूल कुरा शासकको नियत, योग्यता र दृष्टिकोण हो । उदाहरणका लागि, पञ्चायती व्यवस्थाले प्रचार गरेको शान्ति क्षेत्र वा एसियाली मापदण्डको नारा र उद्देश्य किमार्थ नराम्रो थिएन । तर, शासकहरू आफ्नै प्रतिवद्धता र योजनाप्रति इमान्दार थिएनन्’, उनले भने ।