
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिएका छन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुगेका उनले यस्तो निर्देशन दिएका हुन्। उनले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आईसीयु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्ने गरी अस्पतालमा आईसीयु बेडको संख्या बढाउन पनि निर्देशन दिए।
उनले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रुपमा सरकारबाट हुने पनि प्रतिबद्धता जनाए। उनले कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरु बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुनुपर्ने बताए।
उनले भने, ‘देशको एउटा मात्रै सरकारी बाल अस्पताल धेरै बिरामीहरु आउनुहुन्छ तर यहाँभित्र बेड नपाएका कारणले बाहिर जानुपर्ने बाध्यत्मक अवस्था छ, यसलाई अन्त्य गर्न सक्नुपर्छ। जनगुनासो पनि त्यही किसिमले आएको छ। भर्ना गर्नसक्ने अवस्था छैन हामी बाहिर जानुपर्ने र महँगो तिर्नुपर्ने अवस्था छ भन्ने आएको छ। यो कुरालाई अन्त्य गर्नुपर्छ।’