
नेपालगञ्ज – फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिँदै छ। बाँकेमा यो १३ औं चरणको कार्यक्रम हो। स्वास्थ्य कार्यालय, बाँकेले बुधबार हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया गरेको छ ।
बाँकेमा २०६७/६८ देखि औषधि खुवाउन शुरु गरिएको थियो। यो वर्षमा जिल्लाको कभरेज ९१ प्रतिशत थियो। पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले गर्दा त्यसपछि औषधी सेवनको कभरेज घट्दै गएको थियो। गत वर्ष जिल्लाको कभरेज ६८ प्रतिशत थियो।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाँस्क सर्वे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति फेल भएकाले बाँकेमा १३ औं चरणमा औषधि खुवाउने तयारी गरिएको बताइन्।
११ गतेदेखि शुरु गरेर फागुन मसान्तसम्म औषधि खुवाउने फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । बाँकेमा लक्षित ६ लाख १६ हजार ६ सय ९५ जना छन् । बाँकेमा अरु पालिकाको भन्दा नेपालगञ्ज उपमहानगरपालिकामा कभरेज कम रहँदै आएको छ।