सनातनयात्रा

वैदिक परम्परामा कौटुम्बिक सम्बन्ध (१)

वैदिक परम्परामा कौटुम्बिक सम्बन्ध (१)
+
-

विषयप्रवेश

वैदिक–सनातन–परम्परामा धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ मानिएका छन् । त्यसैले सनातन–धर्मका अनुयायीहरूले मानवजीवनमा यिनै चार पुरुषार्थ सिद्ध गर्न न्यायपूर्ण तरिकाले प्रयास गर्नुपर्ने देखिन्छ । धर्मको अनुकूल हुने गरेर मात्र अर्थको उपार्जन गर्नु र कामको उपभोग गर्नु वैदिक परम्पराका विशेषता हुन् । यसैबाट न्यायपूर्ण समाजको स्थापना र लोककल्याणको अभिवृद्धि पनि हुन सक्छ । धर्मको आचरणद्वारा मुख्य पुरुषार्थ मोक्ष प्राप्त गर्नु चाहिँ परम लक्ष्य हो । यही कुरालाई विचार गरेर वैदिक शास्त्रमा विविध नियमहरू बनाइएका छन् । वर्ण–जातिहरूको सृष्टि र तिनका कर्तव्यहरूको शास्त्रमा निर्देशन पनि सबैलाई आआफ्ना लक्ष्य प्राप्त गर्न सजिलो होस् भनेर नै गरिएका हुन् । सबैले शास्त्रीय निर्देशनहरूको पालन गर्दै आआफ्ना कार्य गरेमा नै लोकको हित हुन्छ भन्ने शास्त्रको निष्कर्ष देखिन्छ । यसै कुरालाई दृष्टिमा राखेर कुटुम्बका प्रत्येक व्यक्तिको परस्परमा केकस्तो व्यवहार र सम्बन्ध हुनुपर्छ भन्ने विषय वेद–मन्त्रहरूका आधारमा यहाँ उपस्थापित गर्न लागिएको छ ।

वेदमा कौटुम्बिक सम्बन्ध

कुटुम्ब (परिवार) भनेको पति, पत्नी, छोरा, छोरी, माता, पिता, दाजु, भाइ, दिदी, बहिनी, पितामह  (हजुरबा), पितामही  (हजुरआमा) इत्यादिको समूह हो । कुटुम्बका सबै व्यक्तिले पालन गर्नुपर्ने धर्मका र कौटुम्बिक सम्बन्धका विषयमा विभिन्न वैदिक मन्त्रहरूमा समेत उल्लेख पाइन्छन् । अथर्ववेदका साम्मनस्य–सूक्तमा कुटुम्बका व्यक्तिहरूले परस्पर केकस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा राम्ररी वर्णन गरिएको छ ।

कुटुम्बमा सबै जनाको उस्तै हृदय र उस्तै मनोवृत्ति होस्, उनीहरूले परस्परमा द्वेष–भाव नराखून् र भर्खरै ब्याएकी गाईले नवजात बाच्छोलाई चाहेझैँ एउटाले अर्कालाई चाहोस् भन्ने कामना त्यहाँको पहिलो ऋचामा व्यक्त भएको छ—

सहृदयं साम्मनस्यमविद्वेषं कृणोमि वः ।

अन्यो अन्यमभि हर्यत वत्सं जातमिवाघ्न्या ।।३।३०।१।

यसबाट कुटुम्बका व्यक्तिहरूले समान आस्था लिन र मिल्दोजुल्दो मनोवृत्ति बनाउन तथा परस्परमा प्रेम गर्न आवश्यक हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

छोराले बाबुको कामलाई पच्छ्याउनुपर्छ र आमाको मन राख्ने पनि हुनुपर्छ, साथै पत्नीले पतिप्रति शान्तिप्रद मधुर बोली बोल्नुपर्छ भन्ने विधान पनि उक्त सूक्तको दोस्रा ऋचामा गरिएको छ । जस्तै—

अनुव्रतः पितुः पुत्त्रो मात्रा भवतु सम्मनाः ।

जाया पत्ये मधुमतीं वाचं वदतु शान्तिवाम् ।।३।३०।२।

पत्नीले पतिका परोक्षमा गरेका कामको र पतिले पत्नीका परोक्षमा गरेका कामको एकले अर्कालाई जानकारी दिनु तथा त्यस्ता कामका फलमा दुवैको सहभागिता स्थापित गर्नु पति र पत्नीका सुसम्बन्धका निम्ति अत्यावश्यक हुने कुराको सङ्केत अथर्ववेदकै तल उल्लिखित ऋचामा गरिएको छ—

यद्यज् जाया पचति त्वत् परःपरः पतिर्वा जाये त्वत् तिरः ।

सं तत् सृजेथां सह वां तदस्तु सम्पादयन्तौ सह लोकमेकम् ।।१२।३।३९।

दाजुभाइले परस्परमा द्वेष नगरून्, दिदी–बहिनीहरूले पनि परस्परमा द्वेष नगरून्, उनीहरूले परस्परमा सोझो व्यवहार र समान आचरण गर्दै कल्याणकारी वाणी बोलून् । यस्तो निर्देश उक्त सूक्तको तेस्रा ऋचामा दिइएको छ—

मा भ्राता भ्रातरं द्विक्षन् मा स्वसारमुत स्वसा ।

सम्यञ्चः सव्रता भूत्वा वाचं वदत भद्रया ।।३।३०।३।

जसरी देवताहरू परस्परमा विवाद पनि गर्दैनन् द्वेष पनि गर्दैनन्, त्यसरी नै राम्रो व्यवहार घरमा परस्पर सबैले गर्नुपर्छ, कलह गर्नुहुँदैन भन्ने कुरा पनि अथर्ववेदका उक्त सूक्तमा उल्लिखित छ—

येन देवा न वियन्ति नो च विद्विषते मिथः ।

तत् कृण्मो ब्रह्म वो गृहे संज्ञानं पुरुषेभ्यः ।।३।३०।४।

कुटुम्बका सबै व्यक्तिले परस्पर सद्‌व्यवहार गर्नुपर्छ, मधुरो बोल्नुपर्छ, सहयोग गर्नुपर्छ र कहिल्यै पनि परस्पर बिछोडिनुहुँदैन भनेर त्यहाँ बताइएको छ । साथै यस्तो कुरा पनि त्यहीँ नै भनिएको छ— तिमीहरूको पानी लिने ठाउँ एउटै होस्, अन्नको स्थान एउटै होस्  (समान खानपान होस्), तिमीहरू एउटै सूत्रमा सँगै आबद्ध होओ, जसरी चक्काको बिचका नाभिमा एकै ठाउँमा चक्काका परिधिमा जोडिने काठहरू जोडिएका हुन्छन्, त्यसरी नै तिमीहरू पनि समभावमा मग्न भएर अग्निको उपासना गर—

ज्यायस्वन्तश् चित्तिनो मा वियौष्ट संराधयन्तः सधुराश् चरन्तः ।

अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान् वः सम्मनसस् कृणोमि ।।

समानी प्रपा सह वोऽन्नभागः समाने योक्त्रे सह वो युनज्मि ।

सम्यञ्चोऽग्निं सपर्यताऽरा नाभिमिवाऽभितः ।।३।३०।५–६ ।

पति र पत्नीको विशिष्ट सम्बन्ध

वैदिक धर्ममा गृहस्थाश्रमको सबैभन्दा महत्त्वपूर्ण स्थान छ । पति र पत्नी गृहस्थाश्रमका आधारभूत व्यक्ति हुन् । वेदका मन्त्रभागमा र ब्राह्मणभागमा पति र पत्नीका बिचको सम्बन्धको आदर्श स्वरूप व्यक्त भएको देखिन्छ । कृष्णयजुर्वेदको तैत्तिरीयसंहितायामा यस्तो भनिएको छ—

अर्धो वा एष आत्मनो यत् पत्नी । ६।१।८।५।

अर्थात् पत्नी पुरुषको आधा शरीर हो, त्यसैले पत्नीविना पुरुष अपूर्ण नै हुन्छ भन्ने यस वाक्यको तात्पर्य हो । यसबाट पत्नी पतिको अविभाज्य अङ्ग हुने कुरा स्पष्ट हुन्छ । त्यसै गरी उनीहरूको प्रगाढ सम्बन्ध हुन्छ भन्ने पनि बुझिन्छ । यस्तै भाव भएको अर्को लामो वाक्य शतपथब्राह्मणमा पनि आएको छ— अर्धो ह वा एष आत्मनो यज्जाया तस्माद् यावज्जायां न विन्दते नैव तावत् प्रजायतेऽसर्वो हि तावद् भवत्यथ यदैव जायां विन्दतेऽथ प्रजायते तर्हि हि सर्वो भवति (५।२।१।१०) । यस वाक्यको अर्थ— “पत्नी आफ्नो (पुरुषको) आधा भाग हो, त्यसैले जबसम्म पुरुषले पत्नी पाउँदैन तबसम्म सन्तति जन्माउन समर्थ हुँदैन, ऊ अपूर्ण नै रहन्छ, जब पत्नी पाउँछ तब सन्तति जन्माउन समर्थ हुन्छ र पूर्ण पनि हुन्छ” भन्ने हो । विवाहमा चतुर्थी गर्दा उच्चारण गरिने मन्त्रले पनि पति र पत्नीको एकीकरण गरेको देखिन्छ—

प्राणैस् ते प्राणान् सन्दधाम्यस्थिभिरस्थीनि मांसैर् मांसानि त्वचा त्वचम् । —पारस्करगृह्यसूत्र १।११।५ ।

अर्थात्— हे वधु  (दुलही), मेरा  (पतिका) प्राणसित तिम्रा प्राणलाई, मेरा हाडहरूसित तिम्रा हाडहरूलाई, मेरा मासुसित तिम्रा मासुलाई र मेरा छालासित तिम्रा छालालाई संयुक्त गराउँदछु, मिलाउँदछु (एकीकरण गर्दछु) । वैदिक धर्ममा विवाहसंस्थाको विशिष्ट गरिमा र स्थान छ । धर्मविवाहको कहिल्यै पनि विच्छेद हुँदैन भन्ने कुरा तविष्णुगुप्त चाणक्यको प्रसिद्ध अर्थशास्त्र–ग्रन्थ कौटलीय अर्थशास्त्रमा समेत लेखिएको छ— अमोक्षो धर्मविवाहानाम् ।३।३।

यदि पिताले जन्मिएको जीवित पुत्रको मुख देख्दछ भने उसले आफ्नो सम्पूर्ण वैदिक र लौकिक ऋण यसै पुत्रमा स्थापित गर्दछ र आफू  स्वयम् चाहिँ अमृतत्वमा प्राप्त हुन्छ ।

पत्नीविना धर्मकर्म गर्न पनि सकिँदैन भन्ने कुरा तैत्तिरीयब्राह्मणमा बताइएको छ— अयज्ञो वा एषः, योऽपत्नीकः,न प्रजाः प्रजायेरन्  (२।२।२।६, ३।३।३।१) । जो पुरुष पत्नीरहित छ ऊ यज्ञबाट विहीन हुन्छ अर्थाद् धर्मकर्मबाट रहित हुन्छ, साथै उसका सन्तति पनि हुँदैनन् भनेर यहाँ स्पष्ट पारिएको हो । यस उल्लेखबाट धर्मकर्मका निमित्त पतिको पत्नीसित कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा वेदमा स्पष्ट पारिएको बुझिन्छ । धर्मकर्ममा पतिकी सहायिका भएकाले नै पत्नीलाई धर्मपत्नी भन्ने गरिएको हो । पतिकी सहायिका भएकाले नै वेदमा पत्नीलाई मित्र र सखा पनि भनिएको हो । जस्तै—

पत्नी हि सर्वस्य मित्रम् । –तैत्तिरीय संहिता ६।२।९।२ ।

सखा ह जाया । –ऐतरेयिब्राह्मण ३३।१ ।

पतिपत्नीको परस्पर प्रेम चखेवा पक्षीका भालेपोथीको जस्तो प्रगाढ हुन्छ भन्ने कुरा वेदमा नै सूचित गरिएको छ— इहेमाविन्द्र संनुद चक्रवाकेव दम्पती । –अथर्ववेद १४।२।६४। पत्नी श्रीका स्वरूप हुन् अर्थात् पत्नी गृहलक्षी हुन् भन्ने कुरा पनि वेदमै प्रतिपादन गरिएको छ—

श्रिया वा एतद् रूपम्, यत् पत्नयः । –तैत्तिरीयब्राह्मण ३।९।४।७–८ ।

श्रियै वा एतद् रूपं यत् पत्न्यः । –शतपथब्राह्मण १३।२।६।७ ।

विवाहिता वधूको पतिका घरमा केकस्तो महत्त्वपूर्ण स्थान हुन्छ भन्ने कुरा तल उल्लिखित मन्त्रमा दिइएका आशीर्वादबाट बुझिन्छ—

सम्राज्ञी श्वशुरे भव सम्राज्ञी श्वश्र्वां भव ।

ननान्दरि सम्राज्ञी भव सम्राज्ञी अधि देवृषु ।।

–ऋग्वेद १०।८५।४६, छान्दोग्यब्राह्मण १।२।२० इत्यादि ।

वधूलाई आशीर्वाद दिँदा भनिने उक्त ऋचाको अर्थ यसप्रकार रहेको छ— हे वधु, तिमी ससुराका सामु राम्ररी विराजमान  (दीप्तिमती) होऊ, तिमी सासूका सामु राम्ररी विराजमान होऊ, तिमी नन्दका सामु राम्ररी विराजमान होऊ, तिमी देवरहरूका सामु राम्ररी विराजमान होऊ । अर्थात् तिमी आफ्ना घरमा सबैका अघिल्तिर दीप्तियुक्त, स्नेहपात्र, आदरणीय र अपरिहार्य सहयोगिनी भएर रहू । यस उल्लेखबाट वधूको आफ्ना घरका सबैसित सौमनस्यपूर्ण सम्बन्ध हुने कुरा मानिएको देखिन्छ । ऋग्वेदको अर्को ऋचामा पनि वधूलाई माथिकै जस्तै  आशीर्वाद दिइएको छ—

इह प्रियं प्रजया ते समृध्यतामस्मिन् गृहे गार्हपत्याय जागृहि ।

एना पत्या तन्वं सं सृजस्वाधा जिव्री विदथमा वदाथः ।। —१०।८५।२७, द्रष्टव्य— अथर्ववेद १४।१।२१ । 

यस ऋचाको अर्थ— हे वधु, पतिका घरमा असल सन्तानले युक्त तिम्रो स्नेह बढोस् । त्यहाँ तिमी गृहस्थधर्ममा जागरूक होऊ । आफ्ना पतिसित मिलेर बस । वृद्धावस्थामा तिमीहरू पतिपत्नी राम्ररी उपदेश गर्ने होओ ।

बा, आमा, छोराछोरी, छोराबुहारी, नातिनातिना इत्यादि कुटुम्बका सबै जना नै एउटै घरमा मिलेर बस्ने सामाजिक प्रचलन वैदिक–सनातन–परम्परामा अनादि कालदेखि रहेको तथ्य तल निर्देश गरिएका मन्त्रले सूचित गरेको देखिन्छ—

इहैव स्तं मा वियौष्टं विश्वमायुर् व्यश्नुतम् ।

क्रीडन्तौ पुत्रैर् नप्तृभिर् मोदमानौ स्वे गृहे ।। —ऋग्वेद १०।८५।४२, द्रष्टव्य— अथर्ववेद १४।१।२२ ।

वर र वधूलाई आशीर्वाद दिइएको उक्त मन्त्रको अर्थ यसप्रकारको छ— हे वर र वधु, तिमीहरू यहीँ (यसै लोकमा) रहे (अर्थात् तिमीहरूले असमयमै परलोक जान नपरोस्) । तिमीहरूको कहिल्यै वियोग नहोओस्  छुट्टिएर कहिल्यै बस्न नपरोस्) । सम्पूर्ण आयु उपभोग गरे  (पूर्ण जीवन बाँचे) । आफ्ना घरमा छोराछोरी र नातिनातिनासित खेल्दै–रमाउँदै बसे । यस्तो सर्वकल्याणकारी कौटुम्बिक व्यवस्थाको उल्लेख वेददेखि नै रहेको पाइन्छ ।

पिता र पुत्रको सम्बन्ध

पिताको पुत्रसित वा पुत्रको पितासित विशिष्ट सम्बन्ध हुन्छ । वंशको निरन्तरताका निमित्त वंशधर पुत्रको आवश्यकता वेदमा बताइएको छ । पिताको आत्मस्वरूप नै पुत्र हो भन्ने कुरा त्यहाँ बताइएको छ—

अङ्गादङ्गात् सम्भवसि हृदयादधि जायसे ।

आत्मा वै पुत्त्रनामाऽसि स जीव शरदः शतम् ।। –शतपथब्राह्मण १४।९।४।८, छान्दोग्य¬¬ब्राह्मण १।५।१७, …।

ऐतरेयिब्राह्मणमा  (३३।१) त पुत्रको महत्त्व विशेष रूपले दसोटा गाथाहरूमा प्रतिपादित छ । त्यहाँको एउटा गाथा जस्तै—

ऋणमस्मिन् सन्नयत्यमृतत्वं च गच्छति ।

पिता पुत्त्रस्य जातस्य पश्येच्चेज्जीवतो मुखम् ।।

अर्थात्— यदि पिताले जन्मिएको जीवित पुत्रको मुख देख्दछ भने उसले आफ्नो सम्पूर्ण वैदिक र लौकिक ऋण यसै पुत्रमा स्थापित गर्दछ र आफू  स्वयम् चाहिँ अमृतत्वमा प्राप्त हुन्छ । यस भनाइबाट पुत्र जन्माएको पिता सबैथरी ऋणबाट मुक्त भएर आत्मज्ञान गरेर अमर हुन सक्छ भन्ने बुझिन्छ ।

पुत्रहरूका निम्ति पिताको महत्त्व पनि वेदमन्त्रहरूमा उल्लिखित देखिन्छ । पिता पुत्रको सधैँ रक्षक, पालक, हितकारी र धनदाता हुने कुरा त्यहाँ बताइएको छ । शुक्लयजुर्वेदमा “पितेव पुत्त्रमभि रक्षतात्”  ३५।१७) अर्थात् “पिताले पुत्रको रक्षा गरेझैँ रक्षा गर” भनिएको छ । त्यसै गरी “पुत्त्रमिव पितरौ” शुक्लयजुर्वेद १०।३४, २०।७७) भनेर माता र पिता दुवैको रक्षकत्व निर्दिष्ट छ । पिता पुत्रहरूका निम्ति सजिलैसित नजिक जान सकिने हुने कुरा पनि शुक्लयजुर्वेदमा उल्लिखित छ— स नः पितेव सूनवेऽग्ने सूपायनो भव  ३।२४) । पिता पुत्रहरूका निम्ति धनदाता हुने कुरा पनि वेदमा बताइएको छ— इन्द्र क्रतुं न आ भर पिता पुत्त्रेभ्यो यथा  ऋग्वेद ७।३२।२६, सामवेद २५९, (१४५६)।

सन्तति जन्माएर तिनीहरूको संस्कार, पालन, पोषण र रक्षण पनि गर्ने हुनाले पिता सन्ततिका निम्ति देववत् पूज्य हुने कुरा तैत्तिरीय उपनिषद्मा भनिएको छ—पितृदेवो भव (१।११।२) ।

क्रमशः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?