
नेपालगञ्ज- तराईमा खेलिने फागु पूर्णिमा (होली) मंगलबार बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ।
कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।
उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे।
उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।
स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ। सो पर्व नेपालमा मनाइने होलीजस्तै हो। सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ।
आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ। ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ। कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए।
होटल एशोसियशन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल-२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन्।
पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ।
बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए।