
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन्।
एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साक्षी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन्।
‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरूले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए’, उनले भने, ‘त्यसैको संकेतका रूपमा अदालतको प्रकरण बुझ्न सकिन्छ। यसको लागि हामीले प्रतिवाद गछौँ।’
२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोलिटिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे।
‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोलिटिकल’ भाषा हो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने, ‘हामीले राजनीतिक, वैचारिक रूपले सशक्त प्रतिवाद गछौँ।’
शान्ति प्रक्रियाका विषयहरू टुंग्याउन माओवादीहरू एकठाउँमा आउनु विकल्प नभएको उनको भनाइ छ।
अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी विदेशी शक्तिहरू लागिपरिरहेको बताउँदै पूर्वमाओवादीहरू एक ढिक्का हुनुपर्ने बताए।
‘माओवादी आन्दोलनमा भएका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुटिँदा हाम्रा मुद्दाहरू कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौँ।’
विगतमा शान्तिप्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरूले न्यायलयलाई प्रभावित पार्ने काम भएको आराेप समेत उनकाे छ।
द्वन्द्वकालीनसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्त तातिएको छ। २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।
प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरू कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका हुन्।