
सिमकोट– स्वास्थ्यकर्मीलाई मातृ सुरक्षासम्बन्धी गतिविधिमा दक्षता बढाउन तालिम प्रदान गरिएको छ। दुुर्गममा गर्भवती र सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने कार्य बढिरहेका बेला त्यसलाई न्यूनीकरण गर्न उक्त तालिम प्रदान गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले गर्भवती र सुत्केरीको सुरक्षा प्रदान गर्न गाउँ–गाउँका स्वास्थ्य चौकीमा उपचारमा सहयोग गर्ने उद्देश्यसाथ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको बताइन्।
जिल्लाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई ज्ञान अभावका कारण जटिल केस नभए पनि सुुत्केरी भइसकेका र बेथा लागेका गर्भवती महिलालाई सिधै जिल्लाबाहिर उद्धार गर्न सिफारिस गर्ने कार्य बढिरहेका बेला उनीहरूलाई यो तालिम प्रदान गरिएको हो।
नेपाल लोक कल्याण संघ (स्वान) कार्यक्रम संयोजक सुशिला शाहले मुख्य गरी गर्भवती महिलाहरू सुत्केरी भइसकेपछि उच्च रक्तश्राव हुँदा स्वास्थ्यकर्मीले ज्ञानको अभावको कारण आत्तिएर हेलिकोप्टरबाट उद्धार गर्नका लागि सिफारिस गर्ने प्रचलन बढेको र त्यसलाई कमी ल्याउन तीन दिने तालिम प्रदान गरिएको जानकारी दिइन्।
तालिममा सहभागी प्रत्येक स्वास्थ्यकर्मीलाई त्यसको प्रयोगात्मक अभ्यास पनि गराएको थियो। यो तालिमबाट सर्केगार्ड र नाम्खा गाउँपालिका नवजात शिशुमा आउने समस्या र सुत्केरी महिलाको रक्तश्राव हुने बिराममा पनि कमी आएको छ।
यो तालिम सर्केगार्ड गाउँपालिकाका २५, नाम्खाका २४, सिमकोटका २२ र जिल्ला अस्पतालका २९ जना गरि एक सय जना सिएमए, अनमी र एचएलाई प्रदान गरिएको छ।
तालिमका साथै नाम्खाका पाँच र सर्केगार्ड गाउँपालिका ६ वटा स्वास्थ्य चौकीका प्रसूतिगृहलाई ५२ प्रकारका सामग्रीसमेत प्रदान गरिएको छ।