
पोखरा – काठमाडौँकी सरस्वती अधिकारी खुमैडाँडामा पुग्दा स्वर्गको टुक्रामा पुगेजस्तै अनुभूति गरिन्। सरिपाखादेखि झण्डै ९ घण्टा उकालो चढेर खुमैडाँडामा पाइला टेक्दा उनको थकान सबै गायव भयो।
‘एकदमै उकालो। असिनापानी। यात्राचाँहि एकदम कठिन थियो। जेहोस् यहाँ आइसकेपछि एकदम रमाइलो…। स्वर्गको टुक्रामा जस्तो फिल भयो’, उनले अनुभूति साटिन्।
माछापुच्छ्रे हिमालमा हिउँको लाली चढ्दो छ। खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि दिनप्रतिदिन बढ्दो छ। पर्यटकको संख्या बढ्दा खुमैडाँडाका ३ होटल सञ्चालकलाई भ्याइनभ्याइ छ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित गन्तव्य खुमैडाँडा माछापुच्छ्रे हिमालको काखमा सुन्दरताको पंखा फिँजाइरहेको छ। खुमैडाँडाबाट २ घण्टा अक्करे भीरको बाटो छिचोलेर कोर्चाङ पुगेपछि पर्यटक माछापुच्छ्रे हिमालको झनै समीप पुगिन्छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मा ग्रेट माछापुच्छ्रे ट्रेल अन्तर्गतको सरीपाखा-खुमैडाँडा पदयात्रा पोखराबाट २ दिनमै सकिन्छ। पोखराको हरिचोकदेखि सरिपाखासम्म मोटर यात्रामा पुगिन्छ। सरिपाखादेखि खुमैडाँडासम्म जंगलै-जंगलको यात्रा गर्नुपर्छ। जंगलमा फुलेका लालीगुराँस, चराचुरुङ्गीको चिरबिराहटले उकालो यात्रामा थकान भुलाइदिन्छ।
छोटो र रोमाञ्चक भएकै कारण पर्यटकको रोजाइमा खुमैडाँडा परेको होटल व्यवसायी सुरेश सुनाम बताउँछन्। ’ठाउँ निकै राम्रो छ। फेसबुक र टिकटकबाट अत्यधिक चर्चामा आयो। धेरै नै भाइरल भयो’, उनले भने,’छोटो ट्रेक पनि भयो बाटो पनि राम्रो छ। सर्ट ट्रेक भएको भएर यो ठाउँ पर्यटकले अत्यधिक मन पराए।’
थप तस्बिरहरू: