
काठमाडौँ – मिटरब्याजी पीडितहरूले मंगलबार बिहानैबाट काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
पीडितहरूले आज बिहानैदेखि बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरू खुलामञ्चबाट मार्चपास गर्दै बालुवाटार पुगेका थिए। बालुवाटारबाट मार्च पास गर्दै पीडितहरू अहिले भद्रकालीतर्फ जाँदैछन्।
मिटरब्याज पीडितलाई भेट्न काठमाडाैँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, सहसचिव केदारनाथ शर्माकाे टाेली पुगेकाे थियाे।
तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए।
पीडितहरू खुलामञ्चमा बस्नको लागि आए पनि काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरू खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए।
पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौँका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए।
उनीहरूले मिटरब्याजीलाई ‘कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाएका थिए।
हेर्नूहाेस् तस्बिरहरू: