
सिमकोट – चैत १७ गतेबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक हजार २३४ जना परीक्षार्थी सहभागी हुने भएका छन्। ६ वटा परीक्षा केन्द्रमा ती परीक्षार्थीले परीक्षा दिने भएका हुन्।
शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक भट्टराईले यसपालिको एसईईमा सहभागी हुने विद्यार्थीको संख्या एक हजार २३४ जना रहेको जानकारी दिए।
जबकि गत वर्ष एक हजार १३६ जना थिए। कोरोनापछि जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर अध्ययन गर्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको हो। दुुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्लाबाहिर अध्ययन गर्दै आए भएका विद्यार्थी जिल्लामै आएर अध्ययन गर्न थालेपछि एसईई दिनेको संख्या बढेको हो।
जसमा परीक्षा केन्द्र र परीक्षार्थीको संख्यामा सिमकोट गाउँपालिकाका बालमन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परीक्षार्थी सहभागी हुनेछन्।
त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोडिकोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थी सहभागी हुनेछन्।
कुल परीक्षार्थीमध्ये साधारणतर्फ एक हजार १ सय ४८ जना र प्राविधिकतर्फ ८० तथा ग्रेडबृद्धितर्फ ६ जना परीक्षार्थी रहेका छन्। यसमा एक हजार २ सय २८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी छन्।
परीक्षार्थीमध्ये ६६० जना छात्र र ५७४ जना छात्रा सहभागी हुनेछन्। गत वर्ष एक हजार १ सय ३६ जना थिए। यसका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो।