
पोखरा- पोखराका ९ तालमध्यको एक हो- कुँडहरको कमलपोखरी ताल। विश्व सिमसार सूचीमा सूचीकृत कमलपोखरी ताल आसपासको क्षेत्र बर्सेनि डुबानमा पर्छ। पानीको निकास नहुँदा डुबानमा पर्ने कमलपोखरी आसपासको बस्तीबासी बर्खा लागेपछि त्रासैत्रासमा बाँच्छन्।
बस्तीलाई डुबानबाट जोगाउनलाई ताल आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ। शनिबार ताल क्षेत्रको फोहोर संकलनसँगै ताल क्षेत्रबाट पानीको निकास हुने मुख्य कुलो सफा गरेर बर्खाअगावै डुबानबाट रोक्ने पहल थालिएको हो।
पोखरा महानगरपालिका-१३ वडा कार्यालयले आयोजना गरेको बृहत सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता थियो।

तस्बिर: विनाेद ढुंगाना/देश सञ्चार
ताल क्षेत्रमा भएका प्लास्टिकजन्य फोहोरसँगै झाडी फाँडेर सफा गरेका छन्। कमलपोखरी तालबाट काहुँखोलामा जोड्ने कुलोमा डोजर लगाएर सफा गरिएको छ।
तालको सुन्दरता बढाउनलाई आसपासको फोहोरमैला संकलनसँगै डुबानबाट जोगाउन डोजर लगाएर कुलो सफा गरेको वडाध्यक्ष किरण बरालले बताए। ‘बर्सेनि आउने भेल बाढीपहिरोले यहाँको बस्तीलाई धेरै प्रभाव पारिरहेको छ। डुबान भइरहन्छ। तसर्थ यसलाई रोक्न हामीले पहल सुरु गरेका हौँ’, वडाध्यक्ष बरालले भने।
कुलो सफा गरेर पानी निकास खोल्दा डुबान जोखिम कम हुने उनको भनाइ छ।
स्थानीय शिव गौतमले कुलो बेलामै सफा गरेर पानीको निकास खोलिदिँदा बस्ती डुबानबाट जोगिने बताए।
‘यो सकारात्मक काम हो। यसले गर्दा डुबानको समस्या हट्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने।
पहिले १८२ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरी अतिक्रमणको चपेटामा परेर ३२ रोपनीमा खुम्चिएको छ।
माथिल्लो तटीय क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्दा ताल पुरिँदै कुरूपसमेत बनेको छ। अतिक्रमण हटाउँदै कमलपोखरी ताललाई पुरानै स्वरूपमा वडाले योजना बनाएको वडाध्यक्ष बरालले बताए।