काठमाडौँ – पछिल्लो समय चेक अनादर (बाउन्स)का घटनाहरु थुप्रै सुनिन्छन्। कोही पाउनुपर्ने रकम बराबर दिएको चेकमा पैसा नै छैन भन्दै अदालत पुग्ने गरेका छन् त कोही पटक–पटक ताकेता गर्दासमेत चेकमा पैसा नरहेको भन्दै प्रहरी र अदालत पुग्ने गरेका छन्।
अहिले दिन प्रतिदिन चेक अनादरका घटनाहरु बढ्न थालेका छन्। व्यावसायिक कारोबारको क्रममा, लेनदेन व्यवहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटी दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन छ।
सुरुमा चेक अनादर भनेको के हो भन्ने बुझ्न जरुरी छ। आफ्नो खातामा रकम नभएको वा पर्याप्त नरहेको जानकारी हुँदाहुँदै कुनै व्यक्तिलाई चेक दिइयो तर भुक्तानीका लागि पेश हुँदा नसाटिएमा चेक अनादर हुने अधिवक्ता अर्जुन कुमार अर्याल बताउँछन्।
अधिवक्ता अर्यालका अनुसार चेक अनादरको विषयमा विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न सकिने व्यवस्था छ। बैंकिङ कसुर तथा सजाय निर्धारण ऐनले पनि पर्याप्त रकम नहुँदानहुँदै चेक काट्न नहुने व्यवस्था गरे पनि कसुरको स्पष्ट परिभाषा भने गरेको छैन। यस्तो कसुरमा विनिमयपत्र ऐनअनुसार भुक्तानी पाउने व्यक्तिले चेकमा उल्लिखित रकम र ब्याजसमेत पाउने व्यवस्था छ। कसुरमा तीन महिनासम्म कैदसमेत हुन सक्नेछ।
बैंकिङ कसुरमा मुद्दा चलाउँदा सरकारवादी फौजदारी मुद्दा चलाइन्छ। यस्ता मुद्दामा उच्च अदालतको वाणिज्य इजलासबाट कारबाही सुरु हुन्छ। पहिलो, चेक लेख्ने वा आदेश दिने व्यक्ति (खातावाला), दोस्रो आदेश प्राप्त गर्ने (बैंक) र तेस्रो भुक्तानी प्राप्त गर्ने व्यक्ति (चेक लिइ आउने) हुन्छन्।
मुलुकी ऐन ठगीको महलको १ नम्बरमा भएको अवस्थाअनुसार चेक जारी गर्ने व्यक्तिविरुद्ध ठगीको आरोप लगाइ मुद्दा चलाउँदा सरकारवादी फौजदारी मुद्दा हुने र कसूरमा आरोपित व्यक्तिले अपराधको तहकिकातको लागि २५ दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।
अदालतबाट आरोप प्रमाणित भएमा सोही महलको ४ नम्बर बमोजिम कसूरदारलाई ठगीको बिगो कायम भएमा, हक पुग्नेलाई बिगो भराइ बिगोबमोजिम र बिगो कायम नभएमा पाँच हजार रुपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ।
विनिमय अधिकार पत्र ऐनले भने चेकमा उल्लेखित रकम तथा व्याज भराउन लगाउने र तीन महिना वा तीन हजार जरिवाना वा दुवै गर्नसक्ने व्यवस्था छ। बैंकिङ तथा सजाय ऐनले भने ४५ दिनसम्म थुनामा वा १० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा के छ?
बैंंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २ को खण्ड (ख) मा बैंकिङ कसुर भन्नाले परिच्छेद–२ बमोजिमको कसुर सम्झनु पर्छ भन्ने उल्लेख भइ परिच्छेद–२ मा बैंकिङ कसुरका सम्बन्धमा व्यवस्था भएको देखिन्छ।
दफा ३ मा अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने भन्ने शिर्षकअन्तर्गत खण्ड (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन वा दिन नहुने भन्दै सो कार्यलाई बैंकिङ कसुरका रूपमा परिभाषित गरेको देखिन्छ।
चेकबाहकले चेकमा लेखिएअनुसारको रकम तीन पटकसम्म प्राप्त गर्न नसकेमा चेक बाउन्स गरिदिन बैंकलाई अनुरोध गर्नुपर्छ। सोहीबमोजिम बैंकले चेक बाउन्स भएको जनाउ वा पुर्जी उपलब्ध गराउँछ।
बैंकिङ कसूर जाहेरी दिन एकैपटक चेक बाउन्स भए पनि पुग्छ तर एक–एक हप्ताको अन्तरमा तेस्रो पटकसम्म बाउन्स गर्दा चेक जारी गर्नेलाई बाउन्स भएको जानकारी प्राप्त गर्ने र पछि मलाई बाउन्स भएको थाहा नै भएन भन्ने ठाउँ नहोस् भन्नलाई तीन चोटी बाउन्स गर्नु राम्रो हुन्छ। सामान्यतया तीन पटकसम्म चेक बाउन्स भइसकेपछि भने कालोसूचीमा राखिन्छ।
लिखित जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदाबाहेक सात दिनको सूचना दिनुपर्नेछ। सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ। सोअनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई नै यही निर्देशनअनुरुप कारबाही हुने व्यवस्था छ।
चेक बाउन्स हुने धेरै कारणहरु हुन सक्छन्। त्यसमध्ये प्रमुख भनेको खातामा प्रयाप्त रकम छैन भन्ने थाहा हुँदाहुँदै चेक दिएमा र जानाजान गल्ती गरी चेक थमाइदिएको अवस्थामा हुने गरेको उनी बताउँछन्। त्यसबाहेक खातामा पैसा छैन भन्ने थाहा हुँदाहुँदै चेक दिएमा, केही प्राविधिक कारणले, मिति वा रकम लिने व्यक्तिको नाम नमिलेमा, रकम फरक परेमा, खातावालाको सही ठीक नभएमाजस्ता कारणहरुले पनि चेक बाउन्स हुने गर्छन्।
चेक यदि व्यक्तिगत वा संस्थागत जुनसुकै किसिमको भए पनि मुद्दा दर्ता हुन्छ। यदि कसैले तोकिएको मितिभन्दा अघि वा पछिको वा खाली चेक दिएको छ भने र त्यसमा सहीछाप सम्बन्धित व्यक्तिको छ भने उक्त व्यक्ति अर्थात् सम्बन्धित खातावाला नै कसुरदार हुनेछ।
यदि चेक खाली नै दिएको छ र लिने व्यक्तिले आफ्नो अनुकूल रकम र मिति राखेको रहेछ भने त्यस्तो अवस्थामा खातावाला नै जिम्मेवार हुने उनी बताउँछन्।