
मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरेर निकालिएको छ।
अस्पतालका न्यूरो सर्जन डा. चन्द्र यादवका अनुसार मोरङको जहदा गाउँपालिकाका ७ वर्षीय बलवीर राजभरको मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरेर निकालिएको हो।
डा. यादव नेतृत्वको चिकित्सक टोलीले करिब डेढ घण्टाको समय लगाएर जटिल शल्यक्रियामार्फत राजभरको शल्यक्रिया गरेको हो। राजभरको टाउकोमा गत दुई सातादेखि हड्डी अड्किएको थियो।
घरनजिक खेल्ने क्रममा बाँसको चोइटोले टाउकोमा चोट लागेको बुवा उमेश राजभरले बताए। आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचार नगरी घरमै राखेको उमेशले बताए।
तर पछि बलवीरले चोट सहन नसक्ने भएपछि चैत्र ५ गते कोशी अस्पतालमा उपचारका लागि भर्ना गराएको उमेशले जानकारी दिए। अस्पतालले उपचार निःशुल्क गर्ने जनाएपछि उपचार कार्य अघि बढेको डा. यादवले जानकारी दिए।
उपचारपछि हाल बालकको अवस्थामा सुधार हुँदै गएको डा. यादवको भनाइ छ। शल्यक्रियापछि बलवीर हाल आफै खान, हिँड्डुल गर्न सक्ने भएका छन्।