
पछिल्लो समय विश्वमा कोरोना संक्रमण निकै कम देखिन्छ। दैनिक कूल करिब ५० हजार देखि ७५ हजार नयाँ संक्रमण र ३ सयदेखि ५ सयजनाको कोरोनाबाट मृत्यु भएको देखिन्छ।
केही महिनाअघि हालसम्मकै अत्यधिक कोरोना संक्रमण देखिएको चीन, जापान, कोरिया आदि देशहरूमा होस् या केही महिनाअघिसम्म उग्र नै देखिएका युरोप वा अमेरिका होस्, तिनीहरू पनि हाल शान्त नै देखिन्छन्। तर पनि कोरोना संक्रमण निर्मुल भने भइसकेको छैन र पछिल्लो समय यसले दक्षिण एसियामा फेरि केही प्रभाव पार्न खोजेको जस्तो देखिन थालेको छ।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा विगत करिब एक महिनाभन्दा लामो समयदेखि यस क्षेत्रको कुल कोरोना संक्रमण संख्यामा वृद्धि हुँदै गएको देखिएको छ। दक्षिण एसियाको पछिल्लो करिब डेढ महिना फेब्रुअरी १३ देखि मार्च २८ (४४ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ।
पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण संख्या चित्रमा देखाइए जस्तै पछिल्लो करिब डेढ महिनामा दक्षिण एसियाको समग्र कोरोना संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ र दैनिक औसत संक्रमण संख्या हजार नाघेको छ जुन एक महिनाअघि करिब दुई सयको हाराहारीमा थियो। पछिल्लो अवस्थामा अधिकतम दैनिक कूल संक्रमण संख्या करिब २ हजार ३ सय पुगेको छ जुन एक महिनाअघि दुई-तीन सय जति हुने गर्दथ्यो। त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रवृत्ति पनि केही बढ्न खोजे जस्तो देखिए पनि संख्या भने नगन्य देखिन्छ।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ मार्च २६ देखि अप्रिल १ (विसं २०७९ चैत्र १२ देखि १८) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नया संक्रमणको प्रवृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, चैत्र १८गते शनिबारसम्म, देशभरि जम्मा १७७ जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या १० लाख १ हजार ३८४ पुगेको छ। यसरी नेपालमा विगत करिब डेढ महिनादेखि साप्ताहिक संक्रमण संख्या क्रमश: बढ्दै गइ ७ बाट ९, १२, १९ र २७ हुँदै गतहप्ता निकै वृद्धि भई १७७ पुगेको छ।
त्यस्तै, चित्र न. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ४.६९% देखि अधिकतम १२.७१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ८.१२% पुगेको छ जुन गत हप्ता १.०७% मात्रै थियो। विगत करिब डेढ महिनादेखि संक्रमण संख्याका साथै दैनिक संक्रमण दरमा पनि क्रमश: वृद्धि हुँदै गइ गतहप्ता यसले नया तथा तीव्र छलांग मरेको देखिन्छ। स्मरण रहोस् डब्ल्यूएचओका अनुसार दैनिक संक्रमण दर ५% भन्दा माथि रहे समुदायमा कोरोना संक्रमण अनियन्त्रित भइ फैलिएको भन्ने बुझिन्छ।
गतहप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र विगत केही महिनादेखि देशको कुल कोरोना मृत्यु १२ हजार २० मै कायम रहेको देखिन्छ। गतहप्ता देशभरि जम्मा २ हजार १३७ पिसिआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि १ हजार ९९७ थियो। संक्षेपमा, पछिल्लो समय विश्वभरि कोरोना संक्रमण कम हुँदै गएको परिप्रेक्षमा पछिल्लो समय दक्षिण एसियामा यसले फेरि केही प्रभाव पर्दै गएको देखिन्छ।
पछिल्लो समय दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमण संख्या अझै पनि न्यून रहेता पनि विगत करिब डेढ महिनादेखि कूल दैनिक संक्रमणमा निरन्तर वृद्धि हुँदै गई हाल एक महिना अघिको तुलनामा निकै बढेको छ। यसरी यस क्षेत्रमा कोरोना संक्रमण बढ्नुमा भारतलगायत अफघानिस्तान, पाकिस्तान र नेपाल मूल कारक देखिन्छ।
नेपालमा पनि गत हप्ता (चैत्र १२ देखि १८) मा साप्ताहिक कोरोना संक्रमण संख्या विगत एक महिना अघिकोभन्दा निकै बढेको छ। नेपालमा विगत एक महिनादेखि साप्ताहिक संक्रमण संख्या र संक्रमण दरमा निकै र निरन्तर वृद्धि हुँदै गएको प्रवृत्ति देखिएको छ।
यदि यसै क्रमले दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण बढ्दै जाने हो भने यसले नयाँ प्यान्डेमिक लहरको रूप नलेला भन्न सकिँदैन। तसर्थ नेपालमा सम्बन्धित निकायले यसप्रति गम्भीर दृष्टिकोण राखी जनचेतनाका साथै रोकथामका उपाय पनि तत्काल लागू गर्नु पर्ने देखिन्छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी निकै कमी आइसकेता पनि उन्मुलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरूमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्दछ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरू कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरूमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेखमा नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।