
सिमकोट – हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको अग्लो भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ। अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुुराकानी गर्नुपर्ने बाध्यता आइलागेको हो।
कोल्टीकी स्थानीय जौका सिंहले बिहानदेखि बेलुुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताइन्। झुण्ड्याएको मोबाइलमा लाउडस्पिकरमा कुराकानी गर्दै कोल्टी क्षेत्रको अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि स्थानीय सबैले सोही स्थानबाट मोबाइलमा कुराकानी गर्नुपरिरहेको छ। त्यो पनि कम मूल्यका मोबाइलबाट सम्पर्क हुने गरेको छ।
उनले मोबाइललाई बिहानैबाट घरमा झुड्याएर राख्ने गरेकी छन्। अरु मोबाइल नभएका छिमेकीले पनि आवश्यक परेका बेला उहाँकै मोबाइलबाट सम्पर्क गर्ने गर्छन्। उनले ४ वर्षदेखि यसरी कोल्टीका स्थानीयले सञ्चार सम्पर्क गर्नुपरिरहेको बताइन्। बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि कम मूल्यका मोबाइल सो स्थानमा प्रयोग हुँदै आएका छन्।
मोबाइल सम्पर्क गर्न कोल्टीबाट एक घण्टा टाढाको डाँडामा जानुुपर्ने वा घरको भित्तामा मोबाइल झुण्ड्याएर सम्पर्क गर्नुको विकल्प छैन। कोल्टीमा नेपाल टेलिकमको सेवाले मात्र केही रुपमा काम गर्ने गरेको छ।
यो विधि बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीले नअपनाएर हुम्लातर्फको प्रहरी चौकी कुवाडीका प्रहरीले पनि सोही विधि अपनाउने गर्दै आएका छन्।
प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपरिरहेको जनाएको छ। कवाडी नदीको गहिरो खोचमा बस्ती र प्रहरी चौकी रहेकाले सञ्चार सम्पर्क गर्न कठिन भएको हो।