
सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका आजबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिका केन्द्र श्रीनगरमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो।
गाउँपालिकाका सबै वडामा रहेका खोप लगाउनुुपर्ने उमेर समूहका बालबालिका खोपको पहुँचमा पुुगेपछि घोषणा गरिएको हो। जसमा जन्मेदेखि १५ वर्ष र १६ देखि २३ महिनाका बालबालिकालाई सात पटक भेटेर १३ वटा खोप लगाउन थालिएको थियो।
अदानुचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जन्मेदेखि २३ महिनाका बालबालिकालाई सात पटकको भेटमा १३ वटा खोप लगाउने कार्य पूरा भएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको बताए। गाउँपालिकाका ६ वटा वडामा तोकिएका उमेर समूहका बालबालिका सबैले खोप पाएका छन्।
गाउँपालिकाले केही समयअगाडि खोप अभियान सञ्चालन गरेर महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेको थियो भने त्यसपछि स्वास्थ्यकर्मी पनि अनुुगमनमा गएका थिए।
गाउँपालिकाले खोज र खोप अभियानसमेत सञ्चालन गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुुख शिवराज शर्मालगायत घोषणा कार्यक्रममा सहभागी थिए। जिल्लाका सात वटा गाउँपालिकामध्ये खार्पुनाथले यसअघि नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकेको छ भने नाम्खा र ताँजाकोटले दुुई दिन अगाडि गरेका थिए। सिमकोट गाउँपालिकाले भने वैशाख २५ गते पूर्णखोप सुनिश्चित घोषणा गर्ने भएको छ।