
काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सक पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ। बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटिने बताए।
मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए। उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि चिकित्सकहरूलाई पनि स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्याउने भनेको कुरा पनि तपार्इंहरूकै भनाइलाई हामीले सम्बोधन गर्न खोजेको हो। त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस्। मैले फेरि दोहोर् याउन चाहेँ– मचाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे। म तपाईंहरू सबैको सुझाव लिएर आफ्नो समय बढीभन्दा बढी यो ठाउँलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ थियो। मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘अब यो स्वास्थ्य सामग्री जति खरिद भएको छ। यो प्रयोगमा आएको छैन। योचाहिँ तत्काल कुन–कुन ठाउँमा, कसरी थन्किएको छ। एक हप्ताभित्र त्यसको हिसाब खोज्नुस्। र, कुन ठाउँमा बढी आवश्यक छ ? दुर्गम जिल्लामा त्यो सामग्री नभएको कारणले समस्या परिराखेको छ भने हामीले किन नदिने ? अथवा बिरामीको चाप धेरै भइरहेको हस्पिटलमा हामीले त्यो सामान दिँदा त्यहाँ फाइदा हुन्छ भने किन नगर्ने ? त्यसको सदुपयोग गर्नुपर्यो नि! मैले बुझेसम्म यो ठूलै भोल्युममा छ।’
मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरूलाई समेत सचेत गराए।