
सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित भएको छ।
तोकिएको मापदण्ड र सूचक पूरा भएपछि एक औपचारिक कार्यक्रम आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित गरिएको हो।
सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गाउँपालिकाका सबै वडाका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले सहज रूपमा खोपको पहुँचमा ल्याइएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको हो।
यो उमेर समूहमा २७७ जना बालबालिका रहेको र सबै बालबालिकाले खोप लगाउने कार्यले पूर्णता पाएको हो। खोज र खोप अभियान सञ्चालनपछि सबै बालबालिका खोपको पहुँचमा ल्याइएको हो। यो अभियानमा तीन महिनादेखि स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।
गाउँपालिकास्तरबाट पनि उमेर समूह भएका बालबालिकाको घरघरमा दुुई वटा अनुगमन टोली पुुगेर खोपको पहुँचको अवस्थाबारे लेखाजोखा गरेको थियो।
उक्त उमेर समूहका बालबालिकालाई सात पटक घरमै भेटेर १३ प्रकारका खोप लगाउने कार्य पूरा भएको हो। यसअघि सिमकोट गाउँपालिकाले आठ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडासमेत घोषणा गरेको थियो। पूर्ण खोप सुनिश्चित भएको प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो।
त्यसैगरी सिमकोट गाउँपालिकालाई साक्षर घोषणासमेत गरिएको छ। गाउँपालिका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यका अनुुसार गाउँपालिकाभित्रका १६ देखि ६० वर्ष उमेर समूहका नागरिक ९५ दशमलव ८५ प्रतिशत साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।
साक्षर घोषणा गर्न १५ वटा सूचक निर्धारण गरिएकोमा सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको हो। यी दुुवै कार्यक्रमको घोषणा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले गरेका थिए। कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य विजय बोहरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावल, सर्केगार्ड गाउँपालिाका अध्यक्ष ठानबहादुुर रोकाया, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललगायत सहभागी थिए।