
मालढुंगा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट,
सामाजिक सञ्जालमा यो दोहोरी गीत भाइरल छ। बाग्लुङ पञ्चकोट बोलमा गाएको दोहोरी घम्साघम्सीको एउटै श्रृंखला युट्युबमा झन्डै ५० लाख दर्शकले हेरेका छन्।
बाग्लुङ नगरपालिका- ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोटपनि प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढ्न लालयित आन्तरिक पर्यटक बढिरहेका छन्।
२०७१ सालदेखि निर्माण सुरू भएको पञ्चकोटले धार्मिक मात्रै नभएर प्रकृतिसँग रम्न चाहाने पर्यटकलाई पनि लोभ्याउँदैछ। बाग्लुङ, पर्वत, म्याग्दीसँगै कास्की, स्याङ्जा र चितवनका पर्यटक बढी पुग्ने गरेका छन्।
गुरुडसँगै बनेको मूर्ती र गण्डकी माताको मन्दिर यहाँको मुख्य आकर्षण हो। हनुमानको मुर्ती, कलश, सिसमहल, कलात्मक शैलीमा बनेको विभिन्न मन्दिर र ध्यान गुफाले पनि पर्यटक लोभ्याउँछ।
दृश्यअवलोकन गर्नसमेत पञ्चकोट उपयुक्त रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका महासचिव माधवप्रसाद उपाध्ययले बताए।
‘यहाँबाट धौलागिरी, निलगिरी लगायत दर्जन हिमाल देख्न सकिन्छ। कालिगण्डकी माता र बाग्लुङ, पर्वत र म्याग्दीको रमणीय दृश्य हेर्न पाइन्छ’, उनले भने।
पञ्चकोट धामले पूर्णता पाउन २ अर्ब १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उपाध्यायले जानकारी दिए। उनका अनुसार हालसम्म ५० करोड लगानी भइसकेको छ।
पञ्चकोटमा हाल विश्वकै अग्लो १३५ फिटको कलश, ५ हजार ५५५ किलोको महाघण्ट, पञ्चनारायण मन्दिर निर्माणाधिन छन्।
बाग्लुङको ताराजालकोट, राबराबकोट, माझकोट, कारिकोट र संसारकोटलाई पञ्चकोटमार्फत् चिनाउने प्रयत्न गरिएको हो।
तस्बिरहरू: