
श्री सम्पादकज्यू,
देशसञ्चार डटकम
काठमाडौँ।
त्यहाँ अनलाइनले नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा ‘शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव प्रेम राईलाई २ करोड ३० लाख रुपैयाँ बुझाएको बयान’ शीर्षकको समाचारमा मेरो नाम समावेश गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलालको बयानको हवाला दिँदै उक्त देशसञ्चारले समाचारमा मेरो नामसमेत जोडेको छ। समाचारमा शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्नेगरी प्रहरी समक्ष एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको भनिएको छ। मानव सेवा आश्रमका लागि सहयोगस्वरुप २ करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेको छ । उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन् भनी उल्लेख गरिएको छ। चरित्रहत्या गर्ने मनशायले मेरो स्वाभिमानमा ठेस पुग्ने गरी त्यहाँ अनलाइनले कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गर्दै आम नागरिकमा भ्रम पैदा गर्ने प्रयास गरेको देखिन्छ ।
आरोपित भनिएका भण्डारी र दुलाल दुवै मेरा लागि एकदमै अपरिचित व्यक्ति हुन्। उनीहरुसँग अहिलेसम्म मेरो कुनै चिनजान समेत छैन । यस्ता अपरिचित व्यक्तिसँग मैले अहिलेसम्म भेटघाट र संवादसमेत गरेको छैन। यस्तो अवस्थामा यस्ता आधारहीन, भ्रामक र कपोलकल्पित समाचार किन र कुन उद्देश्यले लेखियो, म आश्चर्यचकित भएको छु।
पत्रकारिताको आचारसंहिता र मर्यादाको समेत ख्याल नगरी मेरो चरित्रहत्या गर्दै एकतर्फी रुपमा यस्ता आधारहीन समाचारको खण्डन गरिदिनुहुन हार्दिक अपील गर्दछु।
अजय क्रान्ति शाक्य
इमेल: ajaykranti@gmail.com