नेपालगञ्ज – मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाबीच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तर्रक्रिया र सम्मान कार्यक्रम’मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरूमा जिम्मेवारी पाएका मुस्लिमहरूलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताए।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पूर्वजनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे। सो अवसरमा उनले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरे।
सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरू थिए।
सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए। उनले राजनितिक विचारधारा अलग अलग भएपनि समुदायको उत्थान र भलाइका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































