
महेन्द्रनगर – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ। अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ।
पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए।
‘केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन। विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ।’
अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन्। अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन्।
विसं २०४० को दरबन्दी हालसम्म कायम रहेको बताउँदै उनले दरबन्दी बढाउनुपर्नेमा जोड दिए। ‘पहिलेको दरबन्दी एक सय जनाको थियो। यहाँ दरबन्दी, अस्पताल व्यवस्थापन समिति, विभिन्न कार्यक्रममा गरी दुई सय भन्दा बढी चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्,’ उनले भने।
अध्यक्ष भट्टले एक सय शय्याको महाकाली अस्पताललाई दुई सय शय्याको बनाउने तयारी भइरहेको जानकारी दिए। अस्पतालमा भौतिक संरचनाको अभाव रहेको बताउँदै इमरजेन्सी भवन बनेपछि सेवा प्रवाहमा सहज हुने उनको भनाइ थियो। ‘ओपिडी ब्लक र इन्टोरका लागि अझै भवनको अभाव छ। भौतिक संरचना निर्माणमासमेत हामीले पहल गरिरहेका छौँ,’ उनले भने। रासस