
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै दाङको घोराही उप-महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुराम आचार्यले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो। केही समय अघि काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए। उनको सिको गर्दै अन्य जनप्रतिनिधिहरुले पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्।
भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध हुँदै आइरहेको छ। भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ।
बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेसँगै देशभरका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न थालेका छन्।