
काठमाडौँ- एकपटक कोरिया गएर ५ वर्ष बसेर नेपाल फर्किएकाहरुले आफूहरुलाई पुन: कोरिया पठाउन आनाकानी गरेको गुनासो गरेका छन्।
आफूहरु सक्षम हुँदाहुँदै पनि कोरिया नलगिएको भन्दै उनीहरुले गुनासो गरेका छन्। ७-८ संख्यामा देशभरबाट उपस्थित भएका उनीहरुले आइतबार ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका थिए। ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका थिए।
एकपटक कोरिया गएर ५ वर्षसम्म काम गरेर फर्किएपछि पुन: जानको लागि पुन परीक्षा पास हुनुपर्ने व्यवस्था छ। तर परीक्षा दिएर पास भएपनि उनीहरुलाई कोरिया पठाउने कुरामा ईपीएस शाखाले चासो नदेखाएको गुनासो उनीहरुको छ।
‘हामी परीक्षामा पनि १०० मा १०० नै ल्याएर बसेका छौं, ५ वर्ष काम गरेर फर्किएका हौं, हामी उक्त काममा पनि सक्षम छौं भने हामीलाई चाहिँ नलैजाने अनि नयाँलाई मात्र लैजानुपर्ने कारण चाहिँ किन त हामी के कुरामा कमजोर छौं भनिदिनु पर्ने कि त,’ पीडित भन्छन्, ‘हामीहरुको काजगपत्र नै सम्बन्धित ठाउँसम्म पुर्याइदिएका छैनन्। परीक्षामा मात्रै सामेल गराउने तर नलैजाने आखिर किन त।’
त्यस्तै अर्का पीडित भन्छन्, ‘हामी कोरियन भाषा पास गरेर बसेका छौं, काममा पनि सक्षम छौं तर यति हुँदाहुँदै पनि हामीलाई लगिएको छैन। हरेक पटक परीक्षा हुन्छ तर नयाँले मात्रै चान्स पार्छन् हामी पुराना कसैलाई पनि लगिएको छैन।’
उनी भन्छन्, ‘यदि हामी एक पटक गएर फर्किएकाहरुलाई नलैजाने हो भने कि त खुल्ला रुपमा भनिदिन पर्यो रिटर्नीहरु पुन कोरिया जान पाइँदैन भनेर होइन भने हामी पनि कोरिया जान पाउनुपर्छ।’
यसैक्रममा पीडित र ईपीएस शाखा कार्यालयबीच सहमति भएको शाखा प्रमुख पुष्पराज कट्वालले बताएका छन्। परीक्षा पास भएर बसेकाहरुलाई नलगेसम्म नयाँ परीक्षा नगर्ने, महिलाको हकमा छुट्टै कोटा छुट्याउने लगायतको सहमति भएको छ।
पीडितमध्ये सबै प्रदेशबाट २/२ जना प्रतिनिधि सहितको टोली र ईपीएस शाखा कार्यलयका प्रतिनिधिको टोलीले उक्त सहमति गरेको हो।
गत साउन यता मात्रै दक्षिण कोरियामा करिब २० हजार नेपाली रोजगारीका लागि पुगेका छन्। २० हजार लगेकोमा ६ हजार कमिटेड (पहिले गएर फर्किएका) र १४ हजार नयाँ भाषा परीक्षा पास गरेर जाने श्रमिक छन्। कोरियाले १६ वटा देशका लागि एकमुष्ट कोटा तोक्न थालेको छ। जुन देशले सहजरुपमा छिटो श्रमिक पठाउँछ त्यही देशबाट बढी लैजाने गरेको छ। नेपाल कोरियाको रोजाइमा पहिलो नम्बरमा पर्न थालेको छ। तर नेपालबाट कोरिया पठाउने प्रक्रिया छिटो र संख्या पनि पर्याप्त रहेकाले कोरियाले धेरै नेपाली लैजान थालेको हो।
सम्बन्धित स्थानसम्म कागजात नै नपुर्याइदिएको र नयाँलाई मात्रै प्राथमिकतामा राखेको उनीहरुको गुनासो छ। ‘कोरिया रिटर्नी’हरुले पुन: भाषा परीक्षा दिएर सूचीमा रहेका मध्ये ५ प्रतिशत पनि जान पाएका छैनन्। आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ।