
नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ निर्धारण गर्न आग्रह गरेको छ।
आकासिँदो महंगीको वर्तमान अवस्थामा चिया बगान लगायत सबै क्षेत्रका श्रमिकहरुको एकरुपता कायम गरी न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण गर्न आग्रह गरेको हो। काठमाडौँमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले यस्तो निर्णय गरेको हो। न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण नभए श्रमजिवीहरुको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुनेसमेत उसले भनेको छ।
नेपाल ट्रेड युनियन काँग्रेस नेपाली श्रमजिवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न विगत ७ दशकदेखि क्रियाशील रहँदै आएको छ । यस महासंघले श्रमिकका मुद्दाहरुमा मात्र नभई नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलनहरुमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । श्रमिकका विभिन्न मुद्दाहरु उठाउने क्रममा नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुको पारिश्रमिकलाई प्रमुख मुद्दाको रुपमा लिदै आएको छ ।
नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने प्रावधान छ । यही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरी श्रावणदेखि लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ ।
श्रमजीविको पारिश्रमिकको सन्दर्भमा नेपाल ट्रेड युनियन काँग्रेस विगतदेखि नै न्यूनतम पारिश्रमिक श्रमिकको जीवनयापनको निमित्त सहजता प्रदान गर्ने हुनु पर्दछ भन्ने कुरा उठाउदै आइरहेको र यही अडानमा अडिग छ ।
वर्तमान समयको कहालीलाग्दो मुल्य वृद्धि र महंगीमा मासिक १५/१६ हजार रुपैयाँमा श्रमजिवीले जीवनयापन गर्न समस्या पर्ने गरेको संस्थाले जनाएको छ।